Butwal Today

कोरिया पठाउन माग गर्दै ईपीएस कार्यालयमा विरोध प्रदर्शन

१६ पुष २०८२, बुधबार
अ+
अ-

 काठमाडौं, १६ पुस ।

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि विरोध प्रदर्शन सुरु भएको छ ।

दुई वर्षअघि भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरूले पुन: प्रदर्शन सुरु गरेका हुन् ।

दुई महिनाअघि पनि उनीहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन गरेका थिए । त्यसबेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत युवाबीच सहमति भएको थियो । तर दुई महिना बित्दा समेत सरकारले कुनै कदम नचालेको भन्दै उनीहरू पुन: प्रदर्शनमा उत्रिएका हुन् ।

ईपीएस शाखा कार्यालयमा २ सयभन्दा बढी युवाहरू नाराबाजी गर्दै छन् ।

भाषा र सिप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरूले सरकारमाथि आरोप लगाउँदै आएका छन् । सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएका थिए, जसमा १७ हजार ३० जना मात्र भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता नभएकाले कोरिया जान पाएका छैनन् ।

उनीहरूको माग छ कि कोरिया पठाउन थप विज्ञापन वा परीक्षा लिनुभन्दा पहिले पास भएका कामदारलाई पहिलो प्राथमिकतामा पठाउनुपर्छ ।

सरकारले भने, यसअघि भएको सहमति अनुसार उनीहरूको माग कोरिया सरकार समक्ष पेस गरिएको जनाएको छ । ईपीएस शाखा कार्यालयकी निर्देशक बिन्दा आचार्यले भने, ‘उहाँहरूले राख्नुभएको तीन सूत्रीय माग नेपाल सरकारले सम्बोधन गर्न सक्ने खालका छैनन् । सरकारले ती माग कोरियाली सरकारमा पठाएको छ र कोरियाली सरकारले सकारात्मक देखाएको छ ।’

युवाहरूले रोस्टरको म्याद थप्न, सेक्टर परिवर्तन गरेर जान पाउन र आफ्नो फाइल रोजगारदातासम्म पुर्‍याउनुपर्ने माग राखेका छन् । यी मागहरू कोरियाली सरकारबाट मात्रै सम्बोधन गर्न सकिने निर्देशक आचार्यले बताइन् ।

सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा १ लाखभन्दा बढी नेपाली कार्यरत छन् । कोरियाले सन् २०२४ को तुलनामा २०२५ मा बढी श्रमिक लगाएको ईपीएस शाखाले जनाएको छ । २०२४ मा करिब ९ हजार २ सय, भने २०२५ मा करिब ११ हजार २ सय नेपाली ईपीएस मार्फत कोरिया गएका छन् ।