Butwal Today

बुटवल टुडे मिडिया ग्रुपमा ३ सम्पादक नियुक्त

१४ पुष २०८२, सोमबार
अ+
अ-

बुटवल, १४ पुस ।

बुटवल टुडे मिडिया ग्रुपको सञ्चालक समितिको बैठकले तीन वटा माध्यमका लागि तीन जना सम्पादक नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकको निर्णयअनुसार बुटवल टुडे दैनिकको सम्पादकमा लक्ष्मण पौडेल, बुटवल टुडे डटकमको सम्पादकमा सीपी खनाल र बुटवल टुडे अनलाइन टिभीको सम्पादकमा अमृता अनमोल नियुक्त भएका छन् ।

नवनियुक्त सम्पादकहरूले आ–आफ्नो माध्यमलाई अझ विश्वसनीय, सशक्त र पाठक–दर्शकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुटवल टुडे दैनिकको सम्पादकमा नियुक्त पौडेलले बुटवल टुडे परिवारप्रति आभार व्यक्त गर्दै जिम्मेवारीलाई चुनौती र अवसर दुवैका रूपमा लिएको बताए । “२२ वर्षदेखि रूपन्देहीलाई कर्मथलो बनाएर पत्रकारितामा लागिरहेको छु ।

अब बुटवल टुडे राष्ट्रिय दैनिकलाई तथ्यपरक, सन्तुलित र जनपक्षीय बनाउँदै लैजान मेरो प्राथमिकता हुनेछ,” उनले भने । यसअघि उनी बुटवल टुडे डटकमको सम्पादक थिए ।

बुटवल टुडे डटकमका नवनियुक्त सम्पादक खनालले डिजिटल पत्रकारिताको प्रभावकारिता बढाउने लक्ष्यसहित जिम्मेवारी पूरा गर्ने बताए । “डिजिटल माध्यमलाई छिटो, भरपर्दो र विश्लेषणात्मक बनाउनु आजको आवश्यकता हो, पाठकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो,” खनालले भने । उनी डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् ।

पत्रकारितामा स्नातकोत्तर गरेका उनले यसअघि दैनिक पत्र दैनिकमा कार्यकारी सम्पादकका रूपमा लामो समय काम गरेका थिए । बुटवल टुडे अनलाइन टिभीको सम्पादकमा नियुक्त अनमोलले दृश्य–श्रव्य माध्यमलाई अझ व्यावसायिक र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । “अनलाइन टिभीलाई सूचना, संवाद र बहसको विश्वसनीय प्लेटफर्म बनाउने मेरो लक्ष्य हो,” उनले भनिन् ।

२ दशक लामो पत्रकारीताको  अनुभव बोकेकी अनमोल  कान्तिपुर टेलिभिजनमा वरिष्ठ उपसम्पादकका रूपमा लामो समय काम गरेको अनुभव छ । उनी यसअघि बुटवल टुडे अनलाइन टिभीमा कार्यक्रम निर्देशकको जिम्मेवारीमा थिइन् ।

तीनजना सम्पादक नियुक्तिको निर्णयपछि बुटवल पब्लिकेसन प्रा. लि. का अध्यक्ष हरिप्रसाद पौडेलले अनुभवी र प्रतिबद्ध पत्रकारलाई सम्पादकीय नेतृत्वमा ल्याइएको बताए । “संस्थाको मूल्य, विश्वसनीयता र निरन्तरतालाई मजबुत बनाउन नयाँ सम्पादकीय टिम सक्षम हुनेछ भन्ने विश्वास लिएका छौँ,” उनले भने ।

प्रबन्ध सञ्चालक नवराज कुँवरले माध्यमअनुसार फरक फरक तरिकाले सामग्री उत्पादन र व्यवस्थापनमा जोड दिइने बताए । “प्रिन्ट, डिजिटल र टिभी—तीनै माध्यमको आफ्नै चरित्र छ । नयाँ सम्पादकहरूले त्यसअनुसार संस्थालाई नयाँ उचाइमा पु¥याउने अपेक्षा छ,” कुँवरले भने ।

यस अघि बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्ल र बुटवल टुडे अनलाइन टिभीका सम्पादक स्वस्तिक श्रेष्ठ थिए । बैठकले मल्ल र श्रेष्ठले संस्थामा पु¥याएको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेको छ ।