© २०२३
सुर्खेत ।
सामाजिक सञ्जालमा हालै मुगुको छायानाथ रारा नगरपालिका-१ मा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्दै पोस्टहरू भाइरल भएका छन् । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले समेत यस्तो दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
एमाले केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व सांसद सुशील थापाले पनि आफ्नो पोस्टमा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको दाबी गरेका छन् । तर स्वास्थ्य सेवा कार्यालय, मुगुले यो सूचना निराधार रहेको बताएको छ । बिहीबार स्वास्थ्य सेवा कार्यालयले जारी गरेको विज्ञप्तिमा भ्रामक सूचनाप्रति ध्यानाकर्षण गर्दै खण्डन गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय, मुगुका प्रमुख निर्मल नगरकोटीले रातोपाटीसँग भने, ‘मौसमी भाइरल ज्वरो तथा इन्फ्लुएन्जाका बिरामीहरूको संख्या बढेको सत्य हो । ओपीडीमा आउने करिब ५० प्रतिशत बिरामीमा भाइरल ज्वरो, रुघाखोकी तथा फ्लुका लक्षण देखिएका छन्, जसले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ ।’
दम भएका केही बिरामीको अवस्था बिग्रिएको र केही बालबालिकामा निमोनिया तथा अक्सिजन स्याचुरेसन घटेको कारण अस्पतालमा भर्ना गरिएको भए पनि अहिलेसम्म भाइरल इन्फ्लुएन्जाका कारण कसैको मृत्यु भएको पुष्टि नभएको उनले बताए ।
दीर्घरोग र अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको घटनालाई भाइरल इन्फ्लुएन्जासँग जोडेर भ्रम फैलाइएको उनले बताए ।
भाइरल इन्फ्लुएन्जाका कारण मृत्यु भएको भनिएको क्षेत्रमा स्वास्थ्य सेवा कार्यालय, मुगुको चिकित्सक टोलीले ३२८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणमा केहीमा फ्लु तथा भाइरल ज्वरोका लक्षण देखिए पनि कुनै गम्भीर अवस्था वा अस्पताल भर्ना गर्नुपर्ने स्थिति देखिएको थिएन ।
कार्मारोङ गाउँपालिकाको अनुरोधमा स्वास्थ्य सेवा कार्यालय, मुगुको टोलीले इन्फ्लुएन्जा जस्ता लक्षण भएका व्यक्तिहरूका लागि विभिन्न वडामा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । छायलामा ५२ जना, माङग्रीमा ९० जना, महमा २१० जना र पापुमा ८८ जनाले सेवा लिएका छन् ।
सबै बिरामीको स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच तथा औषधि वितरण गरिएको थियो, तर हालसम्म कुनै पनि बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था देखिएको छैन ।
स्वास्थ्य सेवा कार्यालय, मुगुले आम नागरिकलाई भ्रामक सूचनाबाट भ्रमित नहुन, स्वास्थ्यसम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतलाई प्राथमिकता दिन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।