© २०२३
सदाको बर्षझै यो बर्षपनि तराईमा शितलहर सुरु भैसकेको छ ।
शितलहरले नागरिक प्रभावित हुन थालेका छन् । खासगरी बृद्धबृद्धा र बालबालिकाहरू शितलहरले सिर्जना गरेको चिसोका कारण विभिन्न रोगबाट प्रभावित हुन थालेका छन् । नेपालका अधिकांश अस्पतालमा बिरामीको चाप बढेको छ । त्यहाँ त्यही बृद्धबृद्धा र बालबालिकाको सङ्ख्या बढिरहेको देखिएको छ ।
अहिलेसम्म चिसोकै कारण मृत्यु भएको समाचार सार्वजनिक भएको छैन तर चिसोबाट समयमै ध्यान नदिने हो र सुरक्षा नअपनाउने हो भने मृत्युको मुखसम्म पुग्न बेर लाग्दैन ।
तराईमा हुस्सुले चिसो बढाएको छ । चिसो बढेसँगै शितलहरले तराईमा तापक्रम धेरै तल झर्दा सर्वसाधारण प्रभावित भएका छन् । यति बेला चिसो मौसमका कारण तराई क्षेत्रका स्थानीय जनता सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै जाँदा यो समयमा यी क्षेत्रमा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ ।
तापक्रम घट्ने क्रम भर्खर मात्र सुरु भएको छ । यो अवस्था बढ्दो क्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै चिसो मौसमको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्व तयारी गर्न सकियो भने क्षति मानवीय क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ ।
यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ । पुस सुरु भएदेखि नै तराईमा बाक्लो हुस्सु र चिसो हावाले जनजीवन प्रभावित भएको छ । यति बेला मौसम चिसो हुने समय भए पनि अकस्मात् चिसोको मात्रा बढेको छ । चिसोले खागसरि गरिब र न्यून आय भएकाहरू बढी प्रभावित भएका छन् । यो प्रत्येक वर्षको नियमित प्रक्रिया जस्तै बनेको छ ।
जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । असहाय नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ ।
सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिक रूपले सम्पन्न नागरिकले पनि यति बेला मानवता प्रदर्शन गरेर चिसो पीडितहरूलाई सघाउनुपर्छ । पालिकाहरूले समेत चिसोबाट बचाउन आ–आफ्नो क्षेत्रमा दाउराको व्यवस्था गरिदिनुपर्दछ । सामुदायिक वनहरूसँग समन्वय गरि चोक चोकमा दाउराको व्यवस्था गरिदिनाले धेरै राहत हुन सक्छ ।
यद्यपि हरेक वर्ष चिसो बढ्नु र त्यसबाट नागरिक प्रभावित हुनु नियति हो । तर, यसलाई वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन । चिसो प्रभावतलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गर्ने काममा स्थानीय संघ संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको छ ।
यो बेला निःशुल्क दाउरा वितरणमा सरकारको ध्यान जाओस् । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले समेत छिटो आक्रमण गर्छ । नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाह र ध्यान दिनेतर्फ प्रयास गर्नुपर्छ । सरकारले चिसोबाट प्रभावितहरूलाई सुरक्षित बनाउने कुरामा पनि ध्यान दिनु जरुरी छ ।
नागरिकप्रति राज्यको दायित्वबोध हुने हो भने यस प्रकारका प्रकृतिजन्य प्रकोपका घटनाबाट राहत मिल्ने निश्चित छ । केही पालिकाहरूले दाउराको व्यवस्था गरेका छन् । केही पालिका तयारीमा छन् । जेहोस प्रकृतिजन्य प्रकोपको मिलेरै सामना गर्नुपर्दछ । अवको दुई महिना तराईमा शितलहर चल्ने भएकोले यसबाट बच्ने विषयमा सचेत हुनुपर्ने आवश्यकता छ ।
अस्पतालहरूले समेत बालबालिका र बृद्धबृद्धालाई प्राथमिकतामा राखेर उपचारको व्यवस्था गर्नु जरुरी छ ।