© २०२३
बुटवल, ७ पुस ।
क्रिकेट खेलको प्रबर्द्धन र विकासका लागि यही पुस अन्तिम साता बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आयोक रेस्पोन्स टिम लुम्बिनीको आयोजनामा पुस २६ गतेदेखि शुरू हुने प्रतियोगितामा नेपाली र भारतीय टिमहरू सहभागी हुने छन् ।
प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष जमसेद आलम खानले जिल्लामा ठूलो पुरस्कार राशिको क्रिकेट प्रतियोगितामा नेपालका ८ र भारतका ८ टिमको सहभागिता रहने जानकारी दिए ।
इन्डो नेपाल क्रिकेट प्रतियोगिता लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–६ पर्साचोक नजिकै रहेको खेल मैदानमा सञ्चालन हुनेछ ।
‘यो हाम्रो ९ औं संस्करण हो,’ अध्यक्ष खानले भने, ‘विगतका वर्षमा भारतका १६ र नेपालका १६ टिम बनाउँथ्यौं, अहिले खेललाई अझ प्रभावकारी बनाउन टिम घटाएर ८/८ टिम बनाएका छौं ।’
प्रतियोगितामा विजेता टिमले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको भन्दा यो वर्षदेखि विजेता टिमको पुरस्कार राशि १ लाख रुपैयाँ बढी हो ।
यसैगरी ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’ खेलाडीलाई पनि विभिन्न पुरस्कारको व्यवस्था रहेको छ । गत वर्षको विजेता ग्राण्ड कास्मो टिमले उपाधि चुमेको थियो ।
स्थानीय स्तरबाटै खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुचि जगाउन विगत झण्डै एक दशकदेखि प्रतियोगिता गर्दै आएको खानले बताए ।
प्रतियोगिताका लागि टिम दर्ता शुल्क ३० हजार रहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि २२ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
क्लबका सल्लाहकार अकरम खानले लुम्बिनी क्षेत्रका क्रिकेट खेलको विकासको लागि गौतमबुद्ध क्रिकेट रंगशाला आवश्यकता रहेको भन्दै त्यसका लागि संघीय र प्रदेश सरकारले निर्माण गर्नुपर्ने बताए ।
‘यस क्षेत्रका क्रिकेट खेलाडी धेरै उत्पादन गर्ने सक्ने अवस्था छ,’ अकरम खानले भने, ‘यहाँ विगतमा रातिमा पनि प्रतियोगिता सञ्चालन गरेका थियौं । राज्यले चासो दिएर क्रिकेट रंगशाला आवश्यकता महसुस भएको छ ।’
प्रतियोगिताका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग संकलन गरिएको छ ।