© २०२३
काठमाडौं, ७ पुस ।
एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
सोमबार काठमाडौंमा एमसीए-नेपालले पूर्व पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरी सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।
यसैगरी, एमसीए-नेपालले उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग पनि सम्झौता गरेको छ ।
आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिएका छन् ।
उक्त सम्झौता कार्यले व्यापार र सवारी सञ्चालन लागत घटाउने तथा सडक सुरक्षामा सुधार गर्ने विश्वास लिइएको उनले बताए । त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिबिम्बित हुने अर्को उपलब्धि भएको बताए ।
अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले भने, ‘नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिबाट दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतको मार्गप्रशस्त भएको छ र एमसीए-नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको छ ।’