© २०२३
काठमाडौँ ।
सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन गरेको छ । नीतिमा व्यापक हेरफेर भएपछि नेपाली कन्टेन्ट क्रिएटरहरु अन्योलमा परेका छन् ।
पहिलादेखि चल्दै आएका आम्दानीका स्थापित माध्यम बन्द गर्ने र केहीलाई एकीकृत गर्ने प्रक्रिया सुरु भएपछि पहिले नै ‘मनिटाइज’ भइसकेका पेजमा समेत आम्दानी घटेको छ । पछिल्लो परिवर्तनपछि भिडियो स्ट्रिमिङका बीच बीचमा आउने विज्ञापन हटेको छ भने रिल्सको तलपट्टि देखिने विज्ञापन पनि कटौती गरिएको छ ।
पहिलै मनिटाइज भइसकेका पेजहरुमा अहिले ‘कन्टेन्ट मनिटाइजेसन इज लिमिटेड’ भनेर सन्देश देखाइरहेको छ । तर यसको अर्थ मनिटाइजेसन रद्द भयो भन्ने होइन, नीति परिवर्तनको कारण हो ।
मनिटाइजेसनका लागि नयाँ मापदण्ड
यसअघि फेसबुकले नेपालमा मनिटाइजेसन सुरु गर्दा क्रिएटरले २८ दिनमा ५ लाख इङ्गेजमेन्ट र २ हजारभन्दा बढी फलोअर बनाएपछि आवेदन दिन योग्य मानिन्थ्यो । अब नीति कडा भएको छ । मनिटाइजेसनका लागि फलोअर संख्या पाँच गुणाले बढेर १० हजार हुनुपर्नेछ । साथै ६० दिनमा ६ लाख मिनेटको वाच टाइम पुर्याउनु पर्नेछ, जसले क्रिएटरमाथि धेरै भिडियो पोस्ट गर्न दबाब बढाएको छ ।
वितरण नीति पनि परिवर्तन भएको छ । अब पैसा कमाइका लागि ‘भ्युज’ मुख्य कुरा हुने भएको छ । नयाँ प्रयोगकर्ताले २८ दिनमा १.५ लाख भ्युज पुर्याउनु पर्नेछ भने ९० दिनको एक्टिभिटी पनि मूल्यांकनमा पर्नेछ । नयाँ नीतिले इङ्गेजमेन्टभन्दा ‘रिच’ र ‘भ्युज’लाई बढी प्राथमिकता दिएको छ ।
‘रिच’ भनेको तपाईंको सामग्री (भिडियो, फोटो वा स्ट्याटस) कति जनासम्म पुग्यो भन्ने संख्या हो । भिडियोको हकमा रिचलाई अब भ्युजसँग जोडेर हेरिनेछ । भिडियो तीन सेकेन्ड मात्र हेर्न पनि एक भ्यु वा रिचमा गणना हुन्छ ।
प्रतिलिपि अधिकार र बट्स अकाउन्टमा कडा निगरानी
नयाँ नीतिले ओरिजिनल कन्टेन्टलाई प्राथमिकता दिएको छ । अरुका सामाग्री प्रतिलिपि गरेर हाल्ने पेज बन्द हुनसक्ने सम्भावना छ । यसैगरी, बट्स अकाउन्ट वा बट्स ग्रुप प्रयोग गरेर इङ्गेजमेन्ट बढाउने प्रयासमाथि पनि कडा निगरानी हुनेछ ।
मौलिक सामाग्री उत्पादकका लागि प्रोफेसनल मोडमा स्वीच गर्ने विकल्प थपिएको छ ।
मनिटाइजेसन बन्द होइन, नीति कडा भएको हो
नेपालमा फेसबुकले युनिफाइड कन्टेन्ट मनिटाइजेसन नीति ल्याएको छ, जसले सबै सामग्री एउटै बास्केटमा राखेर आम्दानीको बाटो खोल्नेछ । अब रिल्स, लामो भिडियो, फोटो मात्र होइन साधारण स्टाटसबाट पनि पैसा कमाउन सकिनेछ ।
नेपाल पहिलो पटक फेसबुक मनिटाइजेसनको आधिकारिक सूचीमा समावेश भएको छ । यसले क्रिएटरले आफ्नो नेपाली बैंक खातामामा डलर आम्दानी प्राप्त गर्न सजिलो बनाएको छ ।
सावधानी आवश्यक
नयाँ अकाउन्ट आवेदन गर्दा सेटअपमा ७ तहमा ध्यान दिनुपर्नेछ ।
नागरिकताको नाम वा पान नम्बरमा सानो गल्ती भए पनि पैसा रोकिन सक्छ । फेसबुकको एआईले सामान्य नेपाली शब्दलाई पनि गलत रूपमा फ्ल्याग गर्न सक्छ, जसले अकाउन्ट सस्पेन्ड हुन सक्ने खतरा राख्छ ।
बैंकको नाम मात्र लेखेर पुग्दैन, अमेरिकी डलरका लागि ८ वा ११ अंकको स्वीफ्ट कोड अनिवार्य छ । सेटअप फाइनल गर्नु अघि कुनै रेड फ्ल्याग छैन भनेर पक्का गर्नु आवश्यक छ ।