Butwal Today

बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै

२ पुष २०८२, बुधबार
अ+
अ-

बुटवल, २ पुस ।

बुटवलमा ठुलो धनराशिको दोस्रो लुम्बिनी क्लासिक राष्ट्रव्यापी डेडलिफ्ट प्रतियोगिता २०२५ हुने भएको छ ।

पावरलिफ्टिङ खेल र खेलाडीहरूलाई प्लेटफर्म दिने उद्देश्यका साथ एक्टिभ प्लस जिम एन्ड फिटनेसको आयोजनामा बुटवल उपमहानगरपालिका, प्रदेश खेलकुद परिषद् लुम्बिनीको संरक्षकत्व, नेपाल पावर लिफिङ एशोसियसन र नेपाल खेलकुद महासङ्घको सहकार्यमा पुस ४ र ५ गते दुई दिने प्रतियोगिता हुने भएको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सिद्धार्थ कुटेज मिलनचोकमा गरिने प्रतियोगिताको आवश्यक सबै तयारी पुरा भएको संयोजक सरोज सिंहले बताए । पावर लिफ्टिङका डेडलिफ्ट, बेन्च प्रेस र स्क्वाट ३ वटा विधामध्ये यस पटक डेडलिफ्टको मात्र प्रतिस्पर्धा गराइने उनले बताए ।

जसमा पुरुषतर्फ ६२ केजी तौल समूह मुनि, ६२.०१ देखी ६९ केजी,  ६९.०१ देखी ७७ केजी र ७७.०१ देखी ८५ केजी गरि चार तथा महिलातर्फ ५८ केजी मुनि, ५८.०१ देखी ६४ केजी र ६४.०१ भन्दा माथि गरि ३ वटा तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

यसै गरी पुरुष मास्टर्स ४५ प्लस र पुरुष जुनियर यु–२३ विशेष प्रतियोगितासमेत हुने छ । प्रत्येक तौल समूहमा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने पुरुष र महिला दुवै समूहका खेलाडीहरूलाई नगद ८ हजार, ६ र ५ हजार रुपैयाँ मेडल, ट्रफीबाट पुरस्कृत गरिने उनले बताए ।

यसै गरी पावर लिफिटको विक्स क्यालकुलेसन विधिबाट ओभरअल विजेता छनौट गरि नगद ५१ हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने सहसंयोजक सुरज थापाले बताए । यसै गरी महिलातर्फ ३१ हजार रुपैयाँ शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

डेडलिफ्ट विधामा खेलाडीको नाम बोलाएपछि भुईँमा राखिएको बारबेललाई एकै चोटि कम्मर र घुँडा सीधा पार्दै उठाएर पुरै शरीर सिधा बनाएपछि लिफ्ट सफल भएको मानिन्छ । पावरलिफ्टिङमा समयको सीमा राखिएको हुन्छ । डेडलिफ्टमा बारबेल जाँघमा अड्याएर रोक्नु (हिचिङ) वा धेरै समय लगाउनु नो लिफ्ट मानिन्छ ।

कुल ३ लाख रुपैयाँ नगद पुरस्कार राशी भएको प्रतियोगिता आयोजना गर्न करीब १३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । पहिलो संस्करणको प्रदेशस्तरीय प्रतियोगितामा ५२ जना खेलाडीहरू सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला शारीरिक सुगठन सङ्घका अध्यक्ष राज कुमार श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, स्ट्रन्थलिफटीङ संघ केन्द्रीय सदस्य बिजेन्द्रमान श्रेष्ठ, खेलकुद महासङ्घ जिल्ला अध्यक्ष समुन्द्र श्रेष्ठले युवाहरूमाझ आकर्षणमा रहेको भन्दै नयाँ युवा खेलाडी उत्पादनमा प्रतियोगिताबाट टेवा मिल्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?