© २०२३
बाँके, २ पुस ।
नेपालगन्जस्थित भेरी अस्पतालले मृत घोषणा गरेको नवजात शिशु अन्त्येष्टिका क्रममा जीवित भेटिएको घटना सार्वजनिक भएको छ । अस्पतालबाट मृत घोषणा गरिएपछि घर लगिएको शिशु अन्त्येष्टि गर्ने तयारीका बेला रोएपछि जीवित रहेको खुलेको हो ।
बाँकेको डुडुवा गाउँपालिका–५ डलैपुरका कमल ददेल र तारा कसेरा पहिलो सन्तानको प्रतीक्षामा थिए । सात महिनाको गर्भ बोकेकी तारालाई मंसिर २५ गते बिहान सुत्केरी व्यथा लागेपछि भेरी अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । माघ मंसिर गते बिहान करिब ८ बजे शिशु जन्मिएको र प्रारम्भमा अवस्था सामान्य रहेको शिशुका बुबा कमल ददेलले बताए ।
तर शिशु जन्मिएको केही समयमै ड्युटीमा रहेका चिकित्सकले शिशुको मृत्यु भइसकेको घोषणा गरेपछि परिवार शोकमा डुबेको थियो । अस्पतालको भनाइमा विश्वास गर्दै परिवारले मृत घोषित शिशुलाई लिएर घर फर्कियो । घर नजिकैको जंगलमा अन्त्येष्टिको तयारी भइरहेको बेला अचानक शिशु रोएको आवाज आएको परिवारले जनाएको छ । त्यसपछि मृत घोषणा गरिएको शिशु जीवित रहेको पुष्टि भएपछि उपस्थित सबै स्तब्ध बनेका थिए ।
परिवारले तत्काल शिशुलाई नेपालगन्जस्थित संजीवनी अस्पतालको एनआईसीयूमा भर्ना ग¥यो । तर भर्ना गरेको करिब २४ घण्टापछि चिकित्सकले शिशुको पुनः मृत्यु भएको जानकारी दिए । दोस्रो पटक पनि सन्तान गुमाउनुपर्दा आफूहरू गहिरो पीडामा परेको परिवारले जनाएको छ ।
संजीवनी अस्पतालका चिकित्सकका अनुसार शिशुलाई लामो समयसम्म चिसो अवस्थामा राखिएको, समयमै सालनाल नकाटिएको र आवश्यक सरसफाइ नगरिएको अवस्था पाइएको थियो । चिकित्सकहरूले भेरी अस्पतालको गम्भीर लापरबाहीका कारण शिशुको अवस्था जटिल बनेको र ढिलाइ भइसकेकाले ज्यान जोगाउन नसकिएको बताएका छन् ।
घटना सार्वजनिक भएपछि भेरी अस्पतालले पीडित परिवारलाई अस्पतालमा बोलाई उल्टै दबाब र धम्की दिएको आरोप परिवारले लगाएको छ । अस्पतालले “सात महिनाको बच्चा बच्दैन” भन्दै आफूहरूलाई दोषी देखाउन खोजिएको परिवारको गुनासो छ ।
यस घटनापछि भेरी अस्पतालको लापरबाही र गैरजिम्मेवार व्यवहारको चौतर्फी विरोध सुरु भएको छ । पीडित परिवारले आज पत्रकार सम्मेलन गरी निष्पक्ष छानबिन र दोषी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कडा कारबाहीको माग गरेका छन् ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुबेदीले जीवित शिशुलाई मृत घोषणा गरिएको घटना दुःखद भएको स्वीकार गर्दै छानबिनका लागि डा. विवेक महतोको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो । छानबिन प्रतिवेदनका आधारमा दोषी देखिएकालाई कारबाही गरिने र यस्ता घटना दोहोरिन नदिन सेवा सुधारका कदम चालिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
यता पीडित परिवारले उपचारमा संलग्न चिकित्सक र नर्सलाई निलम्बन गरी कारबाहीको मागसहित आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको कमल ददेलले जानकारी दिनुभयो ।