Butwal Today

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार

१ पुष २०८२, मंगलवार
अ+
अ-

बुटवल, १ पुष ।

नेपाल सरकारले कतार सरकारलाई कूटनीतिक उपहारस्वरूप प्रदान गर्न लागेको दुईवटा हात्ती भैरहवा आइपुगेका छन् । ती हात्तीलाई बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमार्फत कतार पठाउने तयारी गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोरमा जन्मिएका ७ वर्षे रुद्रकली र ६ वर्षे खगेन्द्रप्रसाद आज बिहान करिब ४ बजे भैरहवा आइपुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार हाल ती हात्तीलाई विमानस्थल नजिकैको खाली जग्गामा अस्थायी रूपमा राखिएको छ । सोमबार सौराहाबाट विशेष रूपमा निर्माण गरिएको खोरसहित ट्रकमार्फत उनीहरूलाई भैरहवा पठाइएको थियो ।

बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव तथा राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामै कतारी दूतावासका प्रतिनिधिलाई ती हात्ती औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ। हस्तान्तरणपछि कार्गो विमानमार्फत हात्तीलाई कतार पठाइनेछ ।

रुद्रकली, पूजाकलीको तथा खगेन्द्रप्रसाद, कोशीकलीको बच्चा हुन् । दुवै हात्तीका बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको सूचना अधिकारी थापामगरले बताए । खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरू रोनाल्डो, ध्रुवे र गोविन्दे जस्ता शक्तिशाली जङ्गली भाले हात्तीको सहवासबाट गर्भवती हुने गरेका छन् ।

सरकारले कूटनीतिक उपहारस्वरूप हात्ती प्रदान गर्ने निर्णय गरेपछि आवश्यक सबै प्राविधिक, कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी पठाउन लागिएको हो । यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा तथा अन्य वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको भए पनि हात्ती उपहारस्वरूप अन्य देशमा पठाउन लागिएको यो पहिलो पटक हो ।