Butwal Today

गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने

१ पुष २०८२, मंगलवार
अ+
अ-

नवलपरासी, ०१ पुस ।

नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पुसको पहिलो साता पानी प्रवाह गरिने भएको छ ।

हिउँदे बाली लक्षित सिँचाइका लागि नहरमा पानी प्रवाह गर्नका लागि भारतीय पक्षसँग कुरा अगाडी बढाइएको हुँदा पुसको पहिलो साता पुस ५ गते नै पानी प्रवाह गरिने सिचाई प्रणाली व्यवस्थापन कार्यालय सेमरीले जानकारी गराएको हो ।

व्यवस्थापन कार्यालयका अनुसार नहरमा पानी प्रवाहका लागि गण्डक ब्यारेजका ढोकाहरू बन्द गर्ने (सर्टडाउन) गरि पानीको सतह निर्धारण गर्न केही समय लाग्ने भएको हुँदा त्यसका लागि पनि गण्डक परियोजना कार्यालय बाल्मिकी नगरसँग पहल भइरहेको छ ।

गण्डक बाँधको सञ्चालन नै भारतीय पक्षको हातमा रहेको छ, उनले भने, त्यसैले हामीले नेपाली नहरमा पानी प्रवाहका लागि पनि भारतीय पक्षसँग आग्रह गर्नुपर्ने हुन्छ । भारतमा हिउँदे बाली रोप्ने कार्य नेपाल भन्दा केही समय ढिलो गर्ने गरेको हुँदा भारतीय पक्षले आफु अनुकूल नै गण्डक बाँध सञ्चालन गर्न चाहन्छ ।

तर नेपालीलाई चाँडै नै पानीको आवश्यकता पर्ने गर्छ, उनले भने, अब भारतको किसानसँग नै तालमेल मिलाई यदि हिउँदे बालीका लागि खेतमा बीउ छर्ने कार्य भयो भने सहज हुने थियो । केही किसानहरू चाँडै नै गहुँ बालीका लागि बीउ छरेका कारण सिँचाइ गर्ने बेला भई सकेको छ ।

उनीहरू वैकल्पिक बोरिड्ड र पम्पिगँसेटको प्रयोग गरि सिँचाइ गर्न थालेका छन् । तर गण्डक सिचित (कमाण्ड) क्षेत्रमा अधिकांश किसानले नहरकै पानी सिँचाइमा प्रयोग गर्ने व्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले बताए ।

उनका अनुसार व्यवस्थापन कार्यालयले नेपाली किसानलाई राहत पुग्ने गरि भारतीय पक्षसँग निरन्तर पहल गर्दै आएको छ । नहर २०३९ सालमा निर्माण भएको हो । जसको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल हो ।

विगत बर्षमा नहरको मर्मत सम्भार एवं नहरमा बालुवा थुप्रिँदै जादा क्षमताको २० प्रतिशत भूमिमा मात्रै सिँचाइ हुँदै थियो । ४ बर्ष पहिला नहरमा ३५ करोड लगानी गरि नदीको बालुवा नहरमा जानबाट रोक्ने प्रविधि (डिसिल्ट्रेसन) का लागि सिल्टबेसिनको निर्माण गर्नका लागि पहल भएको थियो ।

जस्को निर्माण सम्पन्न भई अहिले कार्यान्वयनमा ल्याइएको छ र अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुदैछ । जसका कारण अब साविकमाभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुबिधा उपलब्ध हुनेछ । उक्त डिसिल्ट्रेसन सिल्टबेसिन निर्माण परियोजनाको यहि जेठ २६ गते नै उद्घाटन भइसकेको छ ।

सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिँचाइ विभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झण्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिँचाइ प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियाँमा ठेक्का हात परेको थियो ।

२०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । संरचनागत सुधार भए पछि भारतीय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिने भएको छ । नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ ।

मूल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरू बनेका छन् । तर अहिले पनि चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ, बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि छ ।

विगत बर्षमा भूमिगत सिँचाइ प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिंचाईको स्रोत भएको हुँदा नहर सिँचाइ प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेकोले व्यवस्थापन कार्यालयले सो काम सम्पन्न गराउनमा लागेको थियो । सतही सिँचाइ निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ, जुन भूमिगत सिचाई बोरिड्डको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ ।

भूमिगत सिँचाइ मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखि ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जादा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नुपर्ने अवस्था छ ।

समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ । तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्थ्यो । यसले सिचाई लागत झन बढाउने थियो । तर अहिले नेपाली नहरको सिल्टबेसिन निर्माणले नहरमा पानी प्रवाह सहज रूपमले हुने हुँदा सतही सिँचाइ सहज बन्ने अवस्था देखिएको छ ।
सतही सिँचाइले थोरै लगानीमा पनि सिँचाइ गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिँचाइ मै लगानी बढाउनु पर्ने देखिन्छ ।

नहर वरिपरिका जलासयमा समेत पानी जम्मा गरि राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरि अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।