© २०२३
काठमाडौँ ।
एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गतको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग १ सय ३० रनमा अलआउट भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । नेपालका अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए ।
यस्तै, आशिष लुहारले २३, शाहिल पटेलले १८ र निरकुमारले १४ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बङ्गलादेशका एमडी सबुजले ३ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् भने समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।