© 2026
कञ्चन, २७ मंसिर ।
कञ्चन गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो कञ्चनको समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माण, सेवा सुविधा र सार्वजनिक कार्यक्रमहरूको प्रगति तथा प्रभावकारिताबारे नागरिक समक्ष प्रत्यक्ष जानकारी दिने उद्देश्य सहित सुनुवाइ आयोजना गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ढकालले स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै नागरिकका सुझावहरूलाई आगामी योजनामा प्राथमिकताका साथ समावेश गरिने बताए ।
कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत माधव प्रसाद पोखरेल, उपाध्यक्ष मौसमी थापा मगर, विभिन्न शाखा प्रमुख, शिक्षक, सामाजिक अगुवाहरू तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख रमेश भुसालले गाउँपालिकामा सञ्चालन भएका शैक्षिक कार्यक्रम चुनौती तथा आगामी योजना बारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइमा विभिन्न वडा र प्रतिष्ठानका प्रतिनिधिले सेवा सुविधा, विकास कार्य, सहकारी, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा प्रश्न र सुझाव राखेका थिए ।
कञ्चन गाउँपालिका वडा नम्बर ३ निवासी श्रीकान्त बसौला, धरोहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कञ्चन सहकारी सञ्जालका अध्यक्ष पुष्पराज शर्मा, राष्ट्रिय जनमोर्चा पार्टी कञ्चनका अध्यक्ष लिलाराम खनाल, नेपाली काँग्रेस कञ्चन गाउँपालिका सभापति देवीराम रेग्मी, वडा नं. १ निवासी केजी कुमार पौडेल, वडा नं. ४ थकालीचोक निवासी हिमलाल विश्वकर्मा, कञ्चन गाउँपालिका निवासी मनिराम सापकोटा, थकालीचोक टोल विकास संस्थाका अध्यक्ष नन्द बहादुर खड्काथोकी, वडा नं. १ निवासी दुर्गा बहादुर थापा, वडा नं. १ निवासी दिनेश घिमिरे, वडा नं. ५ निवासी विष्णु थारु लगायतले विकासका ठुला तथा साना योजनाको पारदर्शिता, सहकारीको नियमन, सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षामा सुधार, स्वास्थ्य सेवाको पहुँच, सडक मर्मत तथा स्थानीय सरोकारका मुद्दा उठाएका थिए। साथै स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा देखिएका समस्या, सुधारका उपाय तथा सेवा प्रवाहमा अपनाउनुपर्ने कदमबारे आफ्ना सुझाव तथा गुनासा खुला रूपमा राखेका थिए।
उठाइएका प्रश्नहरूको सम्बन्धित शाखा प्रमुखहरूले आवश्यक स्पष्टीकरण प्रदान गरेका थिए । गाउँपालिकाले पारदर्शिता, उत्तरदायित्व र नागरिक मैत्री सेवा प्रवाहलाई सुदृढ सार्वजनिक सुनुवाइलाई निरन्तरता दिने बताएको छ ।