Butwal Today

दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २६ मंसिर ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार परियोजनाको दाउन्ने क्षेत्रमा निर्माण कार्यले तिव्रता लिएको छ । विस्तारका कारण सवारी आवागमनमा केही असुविधा उत्पन्न भए पनि स्थानीय सरोकारवालासँग समन्वय गर्दै कामलाई गति दिइएको छ ।

उक्त सडक विस्तार परियोजना २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भएपछि औपचारिक रूपमा सुरु भएको हो । २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य लिए पनि विभिन्न प्राविधिक समस्या, मौसमी अवरोध तथा अन्य कारणले काममा ढिलाइ हुँदा परियोजनाको म्याद चार पटकसम्म बढाइएको छ ।

तेस्रो पटक २०८२ साउन ८ सम्म र चौथो पटक २०८३ असारसम्म परियोजना अवधि थपिएको छ । कुल लम्बाइमा ७० किलोमिटर सडक चार लेन, २९ किलोमिटर भागमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन तथा दाउन्ने क्षेत्रका १४ किलोमिटर भागमा तीन लेन सडक निर्माण गरिनेछ ।

पूर्वी खण्ड गैँडाकोटदेखि दाउन्नेसम्मका ६५ किलोमिटरमध्ये ३३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । दाउन्ने क्षेत्र पूर्वी खण्डकै सबैभन्दा चुनौतीपूर्ण भूभाग मानिन्छ । यहाँको साँघुरो भूगोल, जटिल स्थलाकृति र पहाडी जोखिमका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको परियोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?