© २०२३
काठमाडौँ ।
भिजिट भिसामार्फत विभिन्न देशमा विदेश पठाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट हुने ‘सेटिङ’मा दुई ट्राभल कम्पनीका सञ्चालकमार्फत घुस लेनदेन हुने गरेको भेटिएको छ ।
यस प्रकरणमा तत्कालीन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई ७९ लाख ८० हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएको छ ।
घुस लेनदेनको तरिका र संलग्न व्यक्तिहरू
भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई रकम दिने क्रममा ‘ग्रिनलाइन होलिडे प्रालि’का सञ्चालक बालकृष्ण खड्का र ‘फेमिली होलिडे ट्राभल्स एण्ड टुर’का सञ्चालक दीपक भण्डारीसँग लेनदेन भएको देखिएको छ । भट्टराईले घुमाउरो रूपमा बालकृष्ण खड्काका भतिज राम खड्कामार्फत ‘पार्सल’ का रूपमा पैसा लिएको खुलेपछि विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
‘फेमिली होलिडे’ का सञ्चालक भण्डारीले तीर्थराज भट्टराईसँग ‘सेटिङ’ गरी १७ जना पुरुष र १८ जना महिलालाई भिजिट भिसामा विदेश पठाएको पाइएको छ । त्यस्तै ‘ग्रिनलाइन होलिडे प्रालि’का सञ्चालक खड्काले भने भट्टराईसँगको ‘सेटिङ’मा ५७ पुरुष र ४७ जना महिलालाई भिजिट भिसामा विदेश पठाएको खुलेको छ ।
त्यस्तै तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालले भिजिट भिसा प्रकरणको घुसबापत ८ लाख रुपैयाँ अध्यागमन प्रमुख भट्टराईसँग लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। भट्टराईसँग परिचित जग्गा कारोबारी खेमप्रसाद सुवेदीसँग कविता पौडेलले पटक–पटक रकम लेनदेन गरेको पनि भेटिएको छ ।
तीर्थराज भट्टराईले कविता पौडेलको नाममा रहेको मोबाइल सिम अवैधानिक रूपमा प्रयोग गरी सो सिममार्फत भिजिट भिसाका यात्रुहरूको नामावली बालकृष्ण खड्कासमेतसँग आदानप्रदान गर्ने कार्यमा अधिक रूपमा प्रयोग गरेको भेटिएको थियो । साथै, कविता पौडेलको नाममा खेमप्रसाद सुवेदीमार्फत जग्गा खरिद गराएको भेटिएको छ ।
पौडेलले खेमप्रसाद सुवेदीलाई रकम दिएको भनी डायरीमा टिपोट गरेको पाइएको थियो । अनुसन्धानबाट कविता पौडेलले तीर्थराज भट्टराईलाई ‘तिम्रो सामान सुवेदीसँग छ, उतैबाट लिनू’ भनी एसएमएस पठाएको पनि खुलेको छ । त्यस्तै भिजिट भिसामा मानिस पठाउने एजेन्ट चन्द्र प्रभाकर तिमिल्सेनाले होटल कर्मचारी जनक कर्माचार्यको व्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको र सो रकम बालकृष्ण खड्कामा फिर्ता हुने गरेको भेटिएको छ ।
राजनीतिक तरंग र विस्तृत अनुसन्धान
यस प्रकरणमा तत्कालीन गृहमन्त्री लेखक, उनको सचिवालयका कर्मचारी र गृहका अन्य अधिकारीहरू पनि शंकाको घेरामा तानिएका थिए । त्यस क्रममा अख्तियारले तत्कालीन गृहमन्त्री लेखकका स्वकीय सचिव जनक भट्ट र उनकै सचिवालयमा कार्यरत उपसचिव बद्री तिवारीसँग पनि बयान लिएको थियो । तर अख्तियारले यस प्रकरणमा दुवै जनाको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।
तस्करी प्रकरणमा मन्त्री लेखकमाथि नै अनुसन्धान हुनुपर्ने माग राख्दै सुरुमा माओवादी, रास्वपा र राप्रपासहितका दलहरूले सदन अवरुद्ध पारेका थिए । पछि माओवादी सदन अवरुद्धको अडानबाट पछि हटेको थियो । तर रास्वपा र राप्रपाले तत्कालीन गृहमन्त्री लेखकको राजीनामा र निष्पक्ष अनुसन्धानको माग गर्दै त्यसका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोधलाई निरन्तरता दिएका थिए ।
यसैबिच अख्तियारले अनुसन्धान जारी राखेको थियो । त्यही क्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले छानबिन समितिको सट्टा अध्यागमन प्रशासन सुधारका लागि समस्या पहिचान र सुधारका सुझाव दिन पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा असार १२ गते कार्यदल गठन गरेको थियो ।
गृहमन्त्री लेखकले आरोप प्रमाणित भए राजीनामा मात्रै नभई राजनीति नै छाड्ने भन्दै आफूमाथि उठेका प्रश्नहरूको प्रतिवाद गरेका थिए । उनले ‘कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीले राजीनामा दिँदै जाने हो र ?’ भन्दै प्रश्न पनि गरेका थिए । आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताएका थिए ।
‘भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्यो भने, म पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु,’ भन्दै उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । यसैबीच, तत्कालीन सरकारले गठन गरेको बैरागी नेतृत्वको कार्यदलले अध्यागमनमा देखिएका समस्याहरूको पहिचान गरी केही महिनाअघि नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
अख्तियार र प्रहरीको अनुसन्धानबाट यो गिरोहकै आडमा प्रतिव्यक्ति युरोप जानेहरूबाट ३ लाखसम्म र एसियाका विभिन्न मुलुक जान ५० हजारसम्म रकम असुल्ने गरेको तथ्यहरू भेटिएका थिए । भिजिट भिसाका नाममा मानव तस्करी मौलाएपछि दुई वर्षअघि प्रहरीले विमानस्थल अध्यागमनमा विशेष अपरेसन चलाएको थियो । यस क्रममा अध्यागमनका कर्मचारीसहितको गिरोहलाई पक्राउ गरी संगठित अपराध, ठगीलगायतका कसुरमा अनुसन्धान गरिएको थियो ।
सो क्रममा एउटा ट्राभल एजेन्सीबाट भिजिट भिसामा पठाउन लागिएका ६६ जनाको राहदानी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसबेला अध्यागमन अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाइएको थियो । प्रहरीले अध्यागमन अधिकृत खड्कालाई पक्राउ गरेपछि तस्करीको जालो अझ खुलेको थियो ।