© २०२३
बुटवलमा पुस ७ गतेदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । आयोजक रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघका अनुसार ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो । बुटवल छेउँछाउँका शहर बजारहरुमा वर्षेनी यस्ता मेला प्रदर्शनीहरु लाग्ने भएपनि बुटवलका मेला महोत्सवले रुपन्देही र छेउँछाउँका जिल्लाहरुमा विशेष रौनक थप्ने गर्छ । बुटवलमा हुने मेला महोत्सवहरु घुमफिर गर्ने, किनमेल गर्ने र रमाईलो गर्ने अवसरको रुपमा यहाँका मानिसहरुले वर्षभरी पर्खेका हुन्छन् । अझ प्रदर्शनीमा पर्यटन महोत्सव समेत जोडिएपछि घुमफिर गर्न चाहनेहरुलाई उत्साहित नबनाउने कुरै भएन । विगतका मेला महोत्सवमा पनि पर्यटनलाई जोड्ने गरिएको भएपनि पर्यटनका प्रदर्शनी र कार्यक्रमहरु हुदैनथे । यसपालि विगतमा भन्दा केहि फरक छ कि भनेर प्रदर्शनीको दोश्रो दिन प्रदर्शनी अवलोकन गर्न जाँदा आयोजकहरुले राखेको स्वागत ब्यानरसंगैको बोर्डले निराश बनायो । एक त त्यहाँ लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु भनेर जुनजुन स्थानहरु देखाईएको थियो, ती स्थानहरु अपर्याप्त र बुटवलको दृष्टिले हेरिएका ठाउँ थिए र ती ठाउँ पारम्परिक थिए । त्यो भन्दा उदेक लाग्ने कुरा त्यसमा भएको एउटा तस्विर थियो । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलको रुपमा बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको नुवाकोट दरबारको फोटो थियो । नुवाकोटको बारेमा जानकारी नभएकाहरुले त बुटवल र दोभानको सिमानामा रहेको नुवाकोटमा यस्तो भब्य दरबार रहेछ भन्ने ठाने होलान तर दुवै नुवाकोटको बारेमा जानकारी भएकाहरुलाई भने यस्तो गलत सूचनाले पक्कैपनि दुःखी बनायो ।
नेपालमा विदेशी पर्यटक आउन थालेको ७ दशक पुगिसकेको छ र पर्यटनलाई व्यावसायिक रुपमा हेर्न थालेको पनि ६ दशक वितिसकेको छ । उद्यमशीलताको दृष्टिले यो निकै लामो समय हो । नेपालमा पर्यटन विकास भनेर राज्य र नीजि क्षेत्रबाट ठूलो लगानी भैसकेको छ । मानिसहरुको विलासी जीवनशैली र जिज्ञासु स्वभावले गर्दा घुमफिरको प्रवृति बढिरहेको छ । विश्व पर्यटनको प्रभाव पनि नेपालमा परिरहेको छ । कोरोनाकाल अघिसम्म नेपालमा वार्षिक करिब १० लाख बिदेशी पर्यटकहरु नेपाल आएका थिए भने आन्तरिक घुमफिरकर्ताहरु पनि करिब एक करोड पुगिसकेका थिए । यसले नेपालमा पर्यटन क्षेत्रमा राम्रै सम्भावना रहेको संकेत गर्छ । यति सम्भावनाहरु हँुदाहुँदै पनि आम मानिसहरुले पर्यटनलाई नबुझ्दा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन हुन् सकेको छैन र पर्यटनबाट लिन सकिने लाभका अवसरहरु छुटिरहेका छन् । यसैको उदाहरण हो मेला महोत्सवमा पर्यटनको नाममा गरिने खेलाँचीं ।
पछिल्ला दिनहरुमा पर्यटनप्रति मानिसहरुको ध्यान जान थालेको छ । मानिसहरुले आफ्नो क्षेत्रमा रहेका धार्मिक मठमन्दिर, पुराना संरचना, जंगल, तालतलैया, खोलानदी, भूगोल जस्ता कुराहरुमा पर्यटकीय सम्भावना देख्न थालेका छन् । कुनै मानिसहरुले कुनै ठाउँका त्यस्ता स्थान र वस्तुहरुको फोटो खिचेर सामाजिक संजालमा राखिदिदा र केहि लाईक कमेन्ट आउँदा मानिसहरुले त्यसलाई पर्यटकीय सम्पदा भन्न थालिहाल्छन् । २÷४ जना मानिसहरु गएर फोटो खिच्न थाल्ने बित्तिकै पर्यटनका ठूला सपनाहरु देख्न थालिहाल्छन् । २÷४ सय मान्छेले फोटो खिचेर सामाजिक संजालमा राखेपछि केही आकर्षक जस्ता देखिने त्यस्ता स्थान र वस्तुहरुको चर्चा सेलाउँछ । न त्यहाँ पर्यटक पुग्छन्, न त्यहाँका मानिसहरुले पर्यटनबाट नै कुनै लाभ लिन सक्छन् । पर्यटनबाट लाभ लिन सकिन्छ भनेर नीजि क्षेत्रले गरेको लगानी पनि त्यत्तिकै खेर जान्छ । यी सबै समस्याको मुख्य कारण पर्यटनलाई समुदायले नबुझ्नु नै हो ।
देश संघीयतामा गएपछि धेरै स्थानीय सरकारहरुले आफ्नो स्थानीय योजनामा पर्यटनलाई पनि समावेश गरिरहेका छन् । मठ मन्दिर, गुम्बा चैत्य, गढी किल्ला, तालतलैया वा जंगल भएका स्थानिय तहहरुले त पर्यटक भित्राएर मनग्य आम्दानी गर्ने सपना समेत बाँडिरहेका छन् । पर्यटनको नाममा १÷२ कट्ठा जग्गामा तारबार गरेर बिरुवा रोपेर अनि सिमेन्टको बेन्च बनाएर पार्क नाम दिएर उदघाटन गर्ने, पोखरी÷तालमा डुंगा राखेर केहिदिन चलाएर थन्काउने प्रवृत्ति बढ्दै गएको छ । मिनी फेवाताल, मिनी दार्जिलिङ, मिनी मानसरोबर, मिनी सुपादेउराली र यस्तै यस्तै नाम दिएर संरचनाहरु पनि बनाईरहेका छन् । पर्यटनको नाममा १÷२ लाखदेखि ५०÷६० लाखसम्म स्थानीय सरकारले छुट्याएको पाइन्छ । यस्तो कार्यबाट कसैले पनि पर्यटकीय लाभ लिन सकेका छैनन् । स्थानीय वासिन्दाहरु एक दुईपटक फोटो खिच्न गएपनि त्यस्ता ठाउँमा गएर बस्ने, लामो समय बिताउने र पैसा खर्च गर्ने पर्यटकहरु पुग्दै पुग्दैनन् । पालिकाहरुले तामझाम गर्दा आफ्नो ठाउँमा पर्यटनबाट लाभ प्राप्त हुने भयो भनेर उत्साहित भएका नागरिकहरु केही समयपछि स्थानीय सरकारले अनावश्यक खर्च गरेको भन्दै सरकारकै विरुद्धमा ओर्लिन बाध्य हुन्छन् ।
सामान्य नागरिक मात्र नभई प्रदेश सरकार समेत पर्यटन के हो ? पर्यटनबाट कसरी लाभ लिने भन्ने कुरा नबुझेको देखिन्छ । लुम्बिनी प्रदेश सरकार स्थापनाका ५८ महिनामा प्रदेश सरकारका वन तथा वातावरण, ग्रामिण तथा शहरी विकास मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गरि १७ सयवटा पर्यटन सम्बन्धि कार्यक्रम र योजनाहरु ल्याईसकेका छन् । ती योजनाहरुमा मठ मन्दिर जिर्णोद्वार, रंगरोगन, वृक्षारोपण, पार्क निर्माण, बगैचा निर्माण जस्ता कामहरुदेखि भ्यु टावर निर्माण, डाँडामा चढ्ने सिँढी निर्माण जस्ता कामहरु छन् । वडास्तरबाट हुने यस्ता कामको लागि प्रदेशका माननियहरुले प्रदेश सरकारसंग बजेट माग्छन र सबैलाई खुशी पार्न भनेर प्रदेश सरकारले पनि बजेट दिन्छ । यस्ता योजनाबाट कुनै ठाउँ केही समयको लागि सुन्दर त् बन्लान तर यसले पर्यटकलाई ल्याउन भने सक्दैन । प्रदेश सरकारको पर्यटन अदुरदर्शिता उसका महत्वपूर्ण भनिएका कार्यक्रमहरु हेर्दा पनि छर्र्लङ्ग हुन्छ । लुम्बिनी पर्यटन प्रवर्धन गर्ने भन्दै लुम्बिनीमा लगेर खिर खुवाउने, लाखौ पर्यटकलाई सुविधा दिने भन्दै दाङको घोरदौना जस्ता ठाउँमा लाखौ खर्चेर साँस्कृतिक डबली बनाउने, मानसरोबरको प्रतिमूर्ति बनाउने, भिजिटर गाईड भन्दै गुगल सर्चमा लैजाने एप बनाउने जस्ता कामहरु प्रदेश सरकारले गरेको देखियो, जुन कामले पर्यटकीय प्रतिफल दिन सक्दैनन् ।
कुन कुन पर्यटकीय सम्पदा हुन् ? कस्ता मानिसहरु पर्यटक हुन् ? पर्यटनबाट कसरी लाभ लिने भन्ने बारेमा सरकारका विभिन्न तहमा बस्नेहरुदेखि आम समुदायमा समेत भ्रम र अन्यौलता भएको पाइन्छ । कुनै ठाउँमा केही कुरा राम्रो लागेर कोही मानिस वा मानिसको समूह हेर्न आउँछन, केही समय बसेर फोटो खिचेर फर्कन्छन भने त्यसलाई पर्यटन मान्न सकिदैन । कुनै मन्दिर दर्शन गर्नको लागि हजारौ मानिसहरु आउँछन र पुजा गरेर फर्कन्छन भने त्यसलाई पर्यटन मानिदैन । पर्यटनमा तीनवटा कुराहरु हुनैपर्छ । पहिलो कुरा पर्यटकलाई आकर्षित गर्न सक्ने कुनै सम्पदा र त्यससंग जोडिएका सहायक सम्पदाहरु हुनुपर्छ । ति सम्पदाहरु बताउने कथा, प्रचार प्रसार र पूर्वाधार हुनुपर्छ । दोश्रो कुरा– पर्यटकीय सम्पदाहरु हेर्न आउने पर्यटकहरु हुनुपर्छ । कुनै ठाउँमा पुग्ने सबैजना पर्यटक हुदैनन् । कुनै ठाउँमा जन्ती वा मलामी गएको बेलामा यहाको चर्चित ठाउँ, मन्दिर वा तालतलैया हेरौ न त भनेर जानेहरु पर्यटक होइनन् । नातेदारको घरमा जाँदा त्यहाँको ठाउँ घुम्न जानेहरु पनि पर्यटक हैनन् । कुनै ठाउँमा गएर वा घुमफिरको क्रममा कम्तिमा एकदिन बिताउने र कम्तिमा पनि त्यहाँको प्रचलित ज्याला बराबरको आम्दानी सेवाप्रदायकले प्राप्त गर्नेगरी खर्च गर्नेहरु मात्र पर्यटक हुन् । पर्यटक को हुन् र को होइनन भन्ने जान्नु जरुरी हुन्छ । तेश्रो महत्वपूर्ण कुरा हो– सेवा तथा उत्पादन विक्री. पर्यटनबाट लाभ प्राप्त गर्नको लागि पर्यटकले रकम खर्चेर स्थानीय सेवा लिएको र वस्तुहरु खरिद गरेको हुनैपर्छ । पर्यटकले लिने सेवा सुविधामा स्थानीय श्रम सिपले मुल्य प्राप्त गर्ने हुनुपर्छ । पर्यटकले स्थानीय गाईडको सुविधा लिने, होटलले पस्कने परिकारमा स्थानीय उत्पादनको बढी भन्दा बढी प्रयोग हुने, पर्यटकले खरिद गर्ने वस्तुहरु स्थानीय उत्पादनका हुने हो भने मात्र समुदायले पर्यटनबाट लाभ लिन सक्छन् ।
नेपालमा पर्यटनले व्यवसायको रुप लिदैछ । समुदाय पनि पर्यटनबाट लाभ लिने कुरामा सचेत देखिएका छन् तर के के पर्यटकीय सम्पदा हुन्, ती सम्पदालाई कसरी पस्कने ? पर्यटक को हुन् ? पर्यटनबाट कसरी लाभ लिन सकिन्छ भन्ने कुराको जानकारी नहुँदा सबै कुराहरुलाई पर्यटन भन्ने, विश्लेषण नगरी लगानी गर्ने र तत्कालै लाभ प्राप्त नहँुदा हतोत्साही हुने प्रवृति देखापरिरहेको छ, जुन कुरा पर्यटनको लागि मात्र नभएर आर्थिक विकासको लागि पनि अशुभ संकेत हो । स्थानीय क्षेत्रका पर्यटकीय सम्भावनाहरु के के छन् ? भनेर खोजी गर्ने काम स्थानीय सरकारको हो र त्यसमा पर्याप्त लगानी गर्नुपर्ने दायित्व संघीय र प्रदेश सरकारको हो । समुदायको काम पर्यटकीय सेवाको लागि तयारी गर्नु हो । पर्यटकलाई आफ्ना वस्तु तथा सेवाहरु कसरी पस्कने र त्यसबाट कसरी लाभ लिने भन्ने कुराको पूर्वयोजना र तयारी गर्ने, अन्तरपालिका सहकार्य गर्ने, पर्यटनको दिगो विकासको लागि सरकारहरुलाई घच्घच्याउने हो भने पर्यटनबाट पक्कैपनि लाभ लिन सकिनेछ । मन्दिरको छेउँमा, डाँडाको टुप्पोमा, ताल किनारामा बसेर सेल्फी खिचाउँदैमा, मेला महोत्सवमा बदाम खाँदै पिङ खेल्दैमा पर्यटन हँुदैन । लाखौ मानिसहरु हात हल्लाउँदै आफ्नो गाउँको बाटोबाट अन्यत्र गएको हेरेर लाभ लिन सकिदैन । समुदायले यति बुझे पर्यटनको सुरुवात हुनेछ । [email protected]