© २०२३
काठमाडौं, २३ मंसिर ।
जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले करिब ३ महिनाको अनुसन्धानपछि अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनिविरुद्ध लागुऔषधको कसुरका साथै लिखत कीर्ते सम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार, उनको कोठाबाट गाँजा बरामद भएको छ, जसका कारण लागुऔषधको मुद्दा दर्ता गरिएको हो ।
त्यसैगरी, तेन्जिनको हातबाट प्राप्त नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र फर्जी भेटिएका कारण लिखत सम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको छ । अनुसन्धान अनुसार, तेन्जिनले गलत विवरण पेश गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको र त्यसै आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको आरोप छ ।
जसअनुसार उनलाई नागरिक कीर्ते, राहदानी कीर्ते र राष्ट्रिय परिचयपत्र कीर्ते कसुरमा मुद्दा दायर गरिएको छ ।
तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए, तर बाबु भनिएका व्यक्तिले पनि उनलाई नचिन्ने बताएकाले नागरिकता गलत विवरणमा आधारित रहेको प्रहरीले जनाएको छ ।
उनिविरुद्धको मुद्दा न्यायाधीश तेजबहादुर खड्को इजलासमा परेको छ । बयान सकिएपछि बहस हुनेछ र त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेख/धरौटीमा रिहा गर्ने निर्णय हुनेछ ।
यसअघि पनि उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो। सो बेला उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५ सय धरौटी माग गरिएको थियो । तर लागुऔषध र कीर्ते अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो ।
जेनजी आन्दोलनमा टीओबी समूहको सक्रियता र बाह्य हस्तक्षेपको अनुसन्धानले यो समूह साइनो फ्रि तिब्बतसँग सम्बन्धित नभएको निष्कर्ष दिएको छ । मुख्य सदस्य तेन्जिन दावा लामालाई २६ असोजमा पक्राउ गरिएको थियो । प्रहरीले भनेका अनुसार, यो समूहका अन्य सदस्य तिब्बती मूलका नभएका र टीओबी टिसर्ट लगाउने व्यक्ति पनि तेन्जिन बाहेक फेला नपरेका छन् ।
समूहका अन्य सदस्यहरूले टीओबीलाई “द ओरिजिनल ब्रदर्स”को रूपमा लिने गरेको देखिएको छ। गत २३ र २४ भदौमा बुलेट बाइक चलाउँदै हिँडेको यो समूह बाइकर्स ग्रुपकै सदस्य रहेको प्रहरीको निष्कर्ष छ ।