© २०२३
काठमाडौं, २२ मंसिर ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनलाई एनसेलका अध्यक्ष सतीशलाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।
अवलोकनपछि आयोजित बैठकमा एनसेलका अध्यक्ष र सीईओले कम्पनीको सेवा, संचालन, राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान तथा पछिल्लो ‘जेन जी’ आन्दोलनबाट भोग्नुपरेको क्षतिबारे जानकारी गराए। आन्दोलनका क्रममा एनसेलले करिब ६५ करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको थियो। विशेषगरी काठमाडौंस्थित एनसेल आइकन भवनसहितका संरचनामा गम्भीर नोक्सानी पुगेको कम्पनीले जनाएको थियो।
मन्त्री खरेलले दूरसञ्चार क्षेत्रमा एनसेलको योगदानप्रति प्रशंसा व्यक्त गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन कटिबद्ध रहेको स्पष्ट पारे। उनले एनसेललाई ग्रामीण भेगमा किफायती र गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्न तथा सगरमाथा क्षेत्रमा समेत सेवा सञ्जाल बलियो बनाउन सुझाव दिए।
“जेन जी आन्दोलनका क्रममा एनसेललाई भएको ६५ करोड क्षतिप्रति सरकार दुःखी छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाउनेतर्फ सरकार गम्भीर छ। सरकार एनसेलको साथमा छ,” मन्त्री खरेलले भने। उनले एनसेलले ल्याउन लागेको युवामैत्री ‘जेन जी प्याक’ र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने योजनाको पनि प्रशंसा गरे।
बैठकमा सीईओ माइकल फोलेले आगामी वर्षदेखि एसईईमा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति दिन १ करोड रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरे। उनले विद्यार्थीहरूका दूरसञ्चार आवश्यकताका लागि छिट्टै ‘जेन जी प्याक’ सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
फोलेले निरन्तर सेवा, सहनशीलता र नयाँ संकल्पसहित कम्पनीले आफ्नो यात्रा जारी राख्ने बताएका थिए। डिजिटल नेपाल निर्माणको सरकारको लक्ष्यमा एनसेल महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै उनले कम्पनीको डेटा सेन्टरलाई डिजिटल रूपान्तरणका आधारभूत संरचनामध्ये एक प्रमुख अवयव भएको बताए।
विगत दुई दशकदेखि एनसेलले दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा रूपान्तरण ल्याउँदै रोजगार सिर्जना, सामाजिक–आर्थिक विकास र डिजिटल नेपालको भिजनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
देशका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ जम्मा गरेको जनाएको छ। कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १ लाख रोजगारी सिर्जनामा सहयोग पु¥याएको छ।
व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रका परियोजनामा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरी संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू हासिल गर्ने सरकारी प्रयासमा समेत हातेमालो गर्दै आएको छ।