© २०२३
बुटवल, १८ मंसिर ।
नेकपा (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि पुनः विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने भएको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व चयन प्रक्रिया छिटो, सहज र पारदर्शी बनाउन ईभीएम प्रयोग गर्ने निर्णय भइसकेको छ। उनले भने, “हामीले यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्छौं। टेण्डर प्रक्रिया सुरु भइसकेको छ, चाँडै नै मन्त्रालयस्तरीय निर्णयपछि कुन कम्पनीले आपूर्ति गर्ने भन्ने टुंगो लाग्छ।”
एमालेले यसअघि चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा समेत ईभीएम प्रयोग गरेको थियो।
आसन्न महाधिवेशनमा १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिनेछ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटीको संख्या घटाउने संशोधन प्रस्ताव पारित गरेको थियो।
आगामी महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा हुने जनाइएको छ।