© २०२३
काठमान्डौ, १८ मंसिर ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको ११औं महाधिवेशनपछि पनि अध्यक्ष पदमा केपी शर्मा ओली दोहोरिने दाबी गरेका छन् । साथै उनले अहिले एमालेभित्र अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै आवश्यकता नरहेको पनि बताए ।
पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई लक्षित गर्दै रिमालले भने, “अध्यक्ष बन्ने इच्छा राख्न पाइन्छ, तर पार्टी कमिटीले गर्ने निर्णय मान्नु अनिवार्य छ ।”
पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा रिमालले एमालेमा हाल देखिएको दुई धारको विभाजन चुनावपछि समाप्त हुने बताए । उनले भने, “महाधिवेशनमा दुई धारको चुनाव भए पनि विचार फरक छैन । जित्नेले नेतृत्व गर्छ, अर्को साथी सहयोगी भएर बस्छ। तलमाथि हुने कुरा हुँदैन ।”
उम्मेदवारी घोषणा गर्नेलाई उनले चर्चामा आउन चाहने इच्छाको संज्ञा दिए । रिमालले भने, कम्युनिस्ट पार्टीमा म यो हुन्छु भन्ने चलन हुँदैन । कहिलेकाहीँ बाहिरी पार्टीको अभ्यासका कारण यो कुरा बढी चर्चामा आउँछ । तर नेतृत्व टिम बनाउने प्रक्रिया पार्टीभित्रको नियमअनुसार हुन्छ ।”
रिमालका अनुसार, एमालेमा अध्यक्ष केपी शर्मा ओलीको फाइनल निर्णय भइसकेको छ । उनले भने, “नेतृत्व टिम बनाउने क्रममा एक नम्बरको व्यक्तिको निर्णय सकिएको छ । अध्यक्ष केपी ओली हुनुहुन्छ, यो ठहरै हो । साथीहरूले चाहे लेख्न वा छाप्न सक्दछन् । अध्यक्षबाहेकका पदमा छलफल हुन सक्छ ।”
महाधिवेशन प्रतिनिधि छनोटमा पक्षपात भएको आरोपबारे रिमालले भने, “त्यो केवल हल्ला हो । २९ गते महाधिवेशनपछि अध्यक्ष को हुन्छ भन्ने पूर्ण स्पष्ट हुनेछ। त्यसपछि मात्र टिम कसरी बन्ने भन्नेमा छलफल हुनेछ ।”
यसरी, उपमहासचिव रिमालले महाधिवेशनपछि ओलीको अध्यक्षतामा कुनै विवाद नहुने स्पष्ट पार्दै पार्टीभित्रको स्थायित्व र सहकार्यमा जोड दिएका छन् ।