© २०२३
काठमान्डौ, १८ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनसम्बन्धी तयारी र समन्वयका विषयमा सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको छ ।
माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएकाले ती निर्वाचनहरूका तयारी, व्यवस्थापन र आवश्यक समन्वयबारे व्यापक छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
छलफलमा निर्वाचन आयोग, प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरू र सरकारका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सर्वपक्षीय छलफलमा आमन्त्रित एक नेताले भने, “प्रधानमन्त्रीको सचिवालयबाट हामीलाई छलफलमा बोलाइएको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा लगायतका दलहरूलाई आमन्त्रण गरिएको रहेछ । साथै आयोग र सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी रहने जानकारी दिइएको छ ।”
प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनका लागि सर्वपक्षीय छलफल आह्वान गरेको यो पहिलो पटक हो ।