© २०२३
काठमान्डौ, १८ मंसिर ।
यसवर्षको हिउँदमा देशका धेरै क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अधिकतम र न्यूनतम दुवै तापक्रम सामान्यताका तुलनामा बढी रहने प्रक्षेपण छ ।
विभागले सार्वजनिक गरेको हिउँदपूर्व आँकलनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही उत्तरी–पश्चिमी भू–भागमा वर्षा कम, सरदर वा बढी हुने सम्भावना छ । तर सुदूरपश्चिमको पूर्वी–दक्षिणी भू–भाग, कर्णालीको दक्षिणी भू–भाग, लुम्बिनीको पश्चिमी क्षेत्र, बाग्मतीको दक्षिणी भू–भाग, मधेसको उत्तरी भाग र कोशीको मध्य–पूर्वी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५–६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
त्यस्तै, गण्डकीको उत्तरी–दक्षिणी भाग, बाग्मतीको दक्षिणी भू–भाग, र कोशीको उत्तरी तथा दक्षिण–पश्चिमी क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५–६५ प्रतिशत रहेको छ । अन्य धेरै क्षेत्रहरूमा अधिकतम तापक्रम बढी हुने सम्भावना ३५–५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
न्यूनतम तापक्रम पनि धेरै भू–भागमा सरदरभन्दा बढी हुने अनुमान गरिएको छ । विशेषगरी सुदूरपश्चिमको उत्तर तथा दक्षिण–पश्चिम, कर्णालीको मध्य–उत्तरी भू–भाग, लुम्बिनी र मधेसका अधिकांश भू–भाग, बाग्मतीको उत्तर–पूर्व तथा दक्षिण–पश्चिम, र कोशीको दक्षिण तथा उत्तर–पश्चिमी क्षेत्रमा न्यूनतम तापक्रम बढी हुने सम्भावना ५५–६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
समग्रमा, यस हिउँदमा देशका धेरै भू–भागमा वर्षा कम र न्यूनतम तापक्रम सामान्यभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । हिउँदयाम मङ्सिर १५ देखि फागुन १६ गतेसम्म रहने बताइएको छ ।