© २०२३
काठमान्डौ, १७ मंसिर ।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सशस्त्र र नेपाल प्रहरीका दुई जना एआईजीसँग सोधपुछ गरेको छ । सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र प्रहरीका एआईजी सिद्धिविक्रम शाहलाई आयोगले घटनासम्बन्धी विवरणका लागि उपस्थित गराएको हो ।
जेनजी प्रदर्शनका समयमा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए । हाल उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भइसकेका छन् । सशस्त्र प्रहरीका पौडेल अहिले कार्य विभागको नेतृत्वमा रहेका छन् । जाँचबुझ आयोगका एक पदाधिकारीका अनुसार, कार्य विभागले दैनिक अपरेसनको नेतृत्व गर्ने भएकाले एआईजी दुवैसँग सोधपुछ गरिएको हो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले मंसिर १० मा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख ९मुख्य अनुसन्धान निर्देशक० हुतराज थापालाई बयान लिएको थियो । थापाको तीन वर्षे पदावधि भदौ २८ मा सकिएपछि उनी सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शनका बेला थापा गुप्तचर प्रमुख थिए । बयानपछि उनलाई विदेश भ्रमणमा जान र उपत्यका छाड्न रोक लगाउने निर्णय फुकुवा गरिएको छ ।
यसअघि आयोगले पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको थियो । साथै, आयोगले राष्ट्रिय अनुसन्धान विभागको उपत्यका क्षेत्र हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ, र नेपाल प्रहरीका एसपी अपिल बोहरा र कुलदिप चन्दसँग समेत बयान लिएको छ ।