© २०२३
काठमान्डौ, १७ मंसिर ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेका व्यक्तिहरूले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले यस्तो माग राखेका हुन् ।
गौतमका अनुसार अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमै काम गर्न पाउने व्यवस्था छ भने नेपालमा हाल १८ वर्ष पुग्नुपर्ने कानुन लागू छ । उनले भने, “देश विकासका लागि काम गर्न सक्ने व्यक्ति १६ वर्षदेखि नै काम गर्न सक्छन् । यसबारे कानुनमा संशोधन गर्न आवश्यक छ ।”
उनले नेपालका करिब ६० लाख युवा विदेशमा छरिएका उल्लेख गर्दै, उनीहरूले पठाएको रकमले देशको अर्थतन्त्र चलिरहेको बताए । उनले थपे, “युवाहरूको श्रमशक्ति ठूलो स्रोत हो । उनीहरूलाई स्वदेशमै रोजगारी दिन सकिने वातावरण सिर्जना गर्नुपर्छ । ऋणमाथि ऋण थुपारेर सरकारले विकास गर्ने होइन, कामको अवसर दिँदै रोजगारी प्रवर्द्धन गर्नु आवश्यक छ ।”
गौतमले नेपालमा १६ वर्षमै काम गर्न पाउने कानुन ल्याइएमा युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन सकिने र त्यसले देशको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।