© २०२३
काठमान्डौ, १७ मंसिर ।
यस वर्ष विभिन्न समयमा परेको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा व्यापक क्षति पुगेको छ । यसको प्रत्यक्ष प्रभाव धानसहितका प्रमुख बाली तथा पशुपालन क्षेत्रमा परेको समितिको प्रतिवेदनले जनाएको छ । बेमौसमी वर्षाबाट भएको क्षति तथा हानिनोक्सानीको विवरण सङ्कलन तथा विश्लेषणका लागि गठन गरिएको समितिले हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।
समितिको प्रतिवेदनअनुसार पाँच प्रमुख प्रभावित प्रदेशका १५ हजार ४९९ हेक्टर क्षेत्रफलमा धान, उखु, तरकारी र फलफूलबालीमा गरी कूल १ लाख २७ हजार ३८३ मेट्रिक टन उत्पादन घट्ने अनुमान गरिएको छ ।
आर्थिक हिसाबले झन्डै ३ अर्ब ५४ करोड ६१ लाख ४ हजार रुपैयाँ बराबरको क्षति पुगेको समितिले जनाएको छ । यसमध्ये मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ मात्र करिब ३ अर्ब २२ करोड ४७ लाख १९ हजार रुपैयाँको क्षति भएको अनुमान छ । मधेश प्रदेशका सबै आठ जिल्लामा धानबालीमा क्षति पुगेको छ भने तरकारी, फलफूल, उखु तथा पशुधनसमेत प्रभावित भएको उल्लेख छ ।
कोशी प्रदेशमा ३६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको छ, जसमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदो मुख्य प्रभावित बालीको रूपमा देखिएका छन् ।
बागमतीमा २ करोड ४ लाख ५४ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजार रुपैयाँको क्षति भएको समितिका संयोजक तथा कृषि मन्त्रालयका सहसचिव जगनाथ तिवारीले जानकारी दिएका छन् ।
समितिले बाढी–पहिरोबाट प्रभावित साना किसानको सहजीकरणका लागि पशुपन्छीपालन पुनर्स्थापना कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव पनि दिएको छ ।