Butwal Today

गुल्मीबाट ८० जनाले लिए गैर आवासीय नागरिकता

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

गुल्मी, १६ मंसिर

गुल्मी जिल्लाबाट ८० जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् । गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ८० जनाले गैर आवसीय नागरिकता लिएका छन् ।

गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको १९ गतेबाट गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको गैरेले बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा १२ जना, २०८०÷०८१ मा ४८ जना, गत आर्थिक वर्षमा १८ जना र चालु आर्थिक वर्षको हालसम्म दुई जना गरी कुल ८० जनाले गैर आवसीय नागरिकता लिएका हुन् ।

गैर आवासीय नेपाली नागरिकता लिनका लागि आबश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । नेपालबाट विदेशमा गएर त्यहीको नागरिकता लिइसकेका प्रवासी नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता लिन थालेका हुन्् ।

प्रशासनका न्यून जनशक्ति रहेकाले एकै दिन धेरै गैर आवासीय नागरिकता लिन आएमा उसै दिन प्रदान गर्न नसकिने गैरेले बताए ।

गैर आवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।

गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकार वाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागु भएपछि गैर आवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो । गैर आवासीय नागरिकताले भोट दिन, चुनाव लडन, राहदानी बनाउन पाउने छैनन् । तर सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?