© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकामा राखिएको समय ‘ग्याप’बारे प्रश्न उठाएका छन् ।
कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्नेगरी कार्यतालिका सर्वसम्मत पारित गरेको थियो ।
तालिकामा समावेश गरिएको अधिवेशनको समयको ग्यापबारे महामन्त्री थापाले बैठकमा लिखित अतिरिक्त प्रस्तावमार्फत प्रश्न उठाएका हुन्, उनको सचिवालयले जनाएको छ ।
थापाले लिखित प्रस्तावमा उल्लेख गरेका छन् “नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुपर्यो । यदि कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वतः विशेष महाधिवेशन हुनेछ ।”
उनले हस्ताक्षर फिर्ता गराएर मात्र महाधिवेशनको कार्यतालिका ल्याउने अडानमा संस्थापन पक्ष भएपनि, अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित आफूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडानमा रहेपछि संस्थापनले कार्यतालिका ल्याउन बाध्य भएको बताएका छन् ।
थापाले कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न आफू इमान्दारीपूर्वक काम गर्ने पनि स्पष्ट पारेका छन् ।
उनको प्रस्ताव अनुसार, कार्यतालिकाअनुसार काम नभए विशेष महाधिवेशन गर्ने व्यवस्था हुनेछ । “कथंकदाचित पौष महिनाभित्र कार्यतालिका बमोजिम १५औँ अधिवेशन कुनै कारण वा नियतले नहुने देखिएमा हामीले पौषको अन्तसम्म कुरिराख्नु पर्दैन, पौष महिनाको उपयुक्त समयमा नै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नु पर्दछ,” थापाले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।