Butwal Today

दर्ता गर्ने  कार्यालयसँग नै छैन उद्योग व्यवसायको वास्तविक तथ्याङ्क 

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

गुल्मी, १६ मंसिर  । 

गुल्मीमा दर्ता र अनुगमन गर्ने कार्यालयसँग नै उद्योग  व्यवसायको वास्तविक तथ्याङ्क नै नरहेको पाइएको छ  ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले एक सूचना जारी गर्दै  जिल्लामा दर्ता र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा कारबाही गरेरै छाड्ने चेतावनी दिएको समयमा कार्यालयसँग वास्तविक तथ्याङ्क नै रहेको छैन ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कार्यालय प्रमुख राजिव  अर्यालका अनुसार  स्थानीय तहहरूसँग विवरण मागे पनि उपलब्ध हुन नसकेकाले यकिन गर्न समस्या भएको बताएका छन् ।

राजस्व परामर्श समितिका संयोजक तथा  गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लामा दर्ता र नवीकरण नगरी व्यवसाय दर्ता गरेको पाइएकाले १५ दिनको समय अवधि दिएको बताएका छन् । उनीहरूलाई कानुनी दायरमा ल्याउने र राजस्व पनि चुहावट भएकाले त्यसलाई नियन्त्रण गर्ने गरी आफू लागेको उनको भनाइ छ ।

१५ दिनपछि  प्रभावकारी रूपमा अनुगमन गरी व्यवसाय गरेकाहरूले दर्ता र नवीकरण नगरेको पाइएमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उनले दाबी गरे  । स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका व्यवसाय भएकाले जिल्लामा यकिन तथ्याङ्क पनि नरहेकाले समस्या भएको छ ।