© २०२३
भैरहवा ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने वा विकल्प खोज्ने कुरै असम्भव भएको बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ओलीको नेतृत्व मजबुत रहेको र त्यसलाई चुनौती दिने कोही नभएको दाबी गरे ।
थापाका अनुसार विगतदेखि नै एमाले फुटाउने, विभाजन गर्ने तथा नेतृत्व कमजोर पार्ने प्रयास भए पनि ती सफल नहुने स्पष्ट भइसकेको छ । उनले भने, “पार्टी फुटाएर हिजो पनि कसैलाई फाइदा भएन, अहिले पनि हुने छैन । अहिलेको परिस्थितिमा नेतृत्व र पार्टीको संरक्षण सबैभन्दा आवश्यक छ । त्यसैले ओलीको विकल्प खोज्ने सवाल उठ्दैन ।”
पार्टीभित्र चलिरहेको ओलीविरुद्धको मोर्चाबन्दी समयमै रोकिने उल्लेख गर्दै उनले ईश्वर पोखरेललगायत नेताहरूले पनि परिस्थिति बुझ्नुपर्ने बताए । गत महाधिवेशनमा अध्यक्षमा बिद्रोही उम्मेदवार बनेका भीम रावलले २०० मत मात्र ल्याएको उदाहरण दिँदै आगामी महाधिवेशनमा ओलीविरुद्ध उठ्ने कसैलाई पनि त्योभन्दा कमजोर नतिजा आउने थापाको दाबी छ ।
थापाले पार्टीभित्र मौन बस्ने प्रवृत्ति घातक भएको पनि औंल्याए । धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्य कुन उद्देश्यले मौन छन् भन्ने स्पष्ट नभएको उल्लेख गर्दै उनले भने, “पार्टी जोगाउन सक्रिय भएर बोलेका नेताको संख्या औंलामा गन्न सकिन्छ । मौन बस्नेहरुबाट नेतृत्व अपेक्षित हुँदैन ।”
उनका अनुसार पार्टीलाई अगाडि बढाउन प्रतिबद्ध, सक्रिय र स्पष्ट धारणा राख्ने नेतृत्व आवश्यक छ । मौन बस्नेहरुलाई ‘ढुंगा’ र ‘मूर्ति’सँग तुलना गर्दै उनले जिम्मेवारी योग्य व्यक्तिलाई दिनुपर्ने बताए ।
जेनजी आन्दोलनबारे कुरा गर्दै थापाले वास्तविक जेनजी युवाले आगजनी र तोडफोड नगरेको स्पष्ट पारे । सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवेदनशील स्थल जलाउने समूह ‘डिजाइन’ अनुसार सक्रिय भएको आरोप लगाउँदै उनले दोषीलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने धारणा राखे । आफूहरूले आवाज उठाएपछि केही अराजक तत्व पक्राउ परेको उनको दाबी छ ।