© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्विकार्न आग्रह गर्दा, संस्थापन पक्षीय नेताहरूले सभापति देउवासँग छलफल गर्ने बताएका थिए ।
छलफलपछि उनीहरू पुसमा महाधिवेशन गर्ने प्रस्तावमा सहमत भएका हुन् ।
देउवासँग भेट गर्न पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, र नेताहरू बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले, गुरु बराल पुगेका थिए ।
देउवाले पुसमा नियमित महाधिवेशन हुने भए विशेष महाधिवेशन नहुने बताएपछि पूर्वउपसभापति निधिले भने, “सभापतिज्यूले नै पुसमा महाधिवेशन हुने भयो भने विशेष महाधिवेशन हुँदैन भन्नुभयो । त्यसपछि हामी पुसमा महाधिवेशन गर्न सहमत भयौँ ।”
निधिले नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको औचित्य समाप्त हुने पनि बताए ।
देउवाले कार्यवाहक सभापति खड्काले ल्याउने प्रस्ताव सबैको सहमतिको भएकाले मानेर अघि बढ्न नेताहरूलाई आग्रह गरेको जनाइएको छ । यसअघि निधि, सिटौला लगायतका नेताहरू निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा थिए ।