© २०२३
काठमान्डौ, १५ मंसिर ।
डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दुई पीडित बालिकाको तर्फबाट दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
अधिवक्ता अंकिता त्रिपाठीले परमादेशको माग गर्दै दायर गरेको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
रिटमा महान्यायाधिवक्ता कार्यालयबाट अभियोजन नगर्ने निर्णय बदर गरी प्रतिवादीहरूविरुद्ध शरीर बन्धक, बालबालिकासम्बन्धी कसुर, जबरजस्ती करणी र अन्य आपराधिक कार्यहरूमा न्यायपूर्वक कारवाही अघि बढाई यथासक्य चाँडो अभियोगपत्र दायर गर्न परमादेश जारी गर्न माग गरिएको छ ।
प्रतिवादीको रूपमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिल कार्यालय (पाटन), महान्यायाधिवक्ताको कार्यालय र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी) समावेश छन् ।
सुनुवाइ अनुसार, होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिले पीडित बालिकालाई आर्थिक प्रलोभन र झुक्यानमा पारी डिम्ब निकालेर विक्री गरेको आरोप छ । अवैध रूपमा किशोरीहरूबाट डिम्ब सङ्कलन गरी बच्चा जन्माउने उद्देश्यका लागि निःसन्तान दम्पतीलाई बेचबिखन गरेको भन्दै यसअघि सीआइबीमा जाहेरी परेको थियो ।
काठमाडौँमा सञ्चालित दुई क्लिनिक—बबरमहलको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगञ्जको एन्जेल फर्टिलिटी क्लिनिक—माथि अनुसन्धान पूरा भएपछि सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाउने तयारी गरिरहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गर्दै फाइल बन्द गरेको थियो ।