© २०२३
काठमाडौं, १४ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।
रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् ।
दुबै दलबीच वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा र ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने सहमति भएको छ ।
महाधिवेशनसम्मका लागि बनाइएको ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझाबाट एकीकरण प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने निर्णय गरिएको छ । मञ्चका सदस्यहरूको वरियता केन्द्रीय समितिका सदस्य सरह हुने सहमति पनि भएको छ ।
विवेकशील साझाका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमतिमा उल्लेख छ । एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ ।
दलको झण्डा निलो पृष्ठभूमि, सेतो गोलाकारको बीचमा निलो घण्टीको आकृति राखिनेछ र चुनाव चिन्ह ‘घण्टी’ रहने तय भएको छ ।
त्यसैगरी, निर्वाचन आयोगसम्बन्धी कानूनी प्रक्रिया पूरा गर्न र पार्टीका नाममा रहेका चल–अचल सम्पत्ति व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति पनि भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मार्फत लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने सहमतिमा उल्लेख छ ।
