© २०२३
काठमाडौँ ।
बाराको पर्सौनी गाउँपालिका (६) स्थित किरण वेभरेज प्रालिका व्यवस्थापक रामकिशोर सिंहको हत्या सम्बन्धमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका (२२) बस्ने २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह रहेका छन् ।
प्रहरीका अनुसार सिंह हत्याका मुख्य योजनाकार राजनकुमार राम उद्योगमा सवारी चालकको रूपमा काम गर्थे । उनी र व्यवस्थापक सिंहबीच पहिले पनि विवाद हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । करिब एक वर्षअघि गढीमाई मेलाको समयमा राजनले चलाएको गाडीको कलज प्लेट जलेको विषयमा उनीहरूबीच झगडा भएको थियो, जसको कारण राजनले उद्योगमा काम छोडेका थिए ।
गत १ कात्तिकदेखि राजन फेरि उद्योगमा फर्किएका थिए । तर व्यवस्थापक सिंहले उद्योगले तोकेको भन्दा बढी मूल्यमा पानी बेच्ने पाएको कारण १० मंसिरदेखि उनलाई कामबाट हटाएका थिए ।
कामबाट हटाएको झोकमा राजनले ११ मंसिर साँझ वीरगञ्जमा प्रमोदसँग बसेर मदिरा पिउँदै हत्या योजना बनाएको खुलेको छ । प्रहरीका अनुसार वीरगञ्जबाट ल्याएको धारिलो हतियार (छुरा) र ईंट प्रयोग गरी हत्या गरिएको छ ।
अभियुक्तहरू भारततर्फ भाग्ने तयारीमा थिए । तर पर्साको भिस्वा नाकाबाट भाग्न लाग्दा मुख्य योजनाकार राजनलाई छिपहरमाई गाउँपालिका (५) बाट, प्रमोदलाई वीरगञ्ज महानगरपालिका (२२) बाट पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार, “पर्सा प्रहरीले समन्वयमा घटना भएको १६ घण्टाभित्रै अभियुक्तहरू पक्राउ गर्न सफल भएको छ ।”
सर्लाही धनकौल गाउँपालिका (२) घर भएका रामकिशोर सिंहको शव १२ मंसिर बिहान उद्योग नजिकैको खोल्सामा भेटिएको थियो ।