© २०२३
काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा आयोजना गर्न लागेको एकता सभाको विरोध स्थानीय व्यापारीहरूले गरेका छन् ।
सभाका कारण व्यापारमा ठूलो असर परेको भन्दै नजिकका व्यापारीहरूले पर्चा र पम्प्लेटसहित विरोध जनाएका हुन् । उनीहरूले “गरी खान देऊ” भन्ने मागसहित प्रदर्शन गरेका थिए ।
पोखरा ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीले सडकमा सभा आयोजना गर्न अनुमति दिने जिल्ला प्रशासन र महानगर दुवैप्रति आक्रोश व्यक्त गरे । उनले भने, “सडकमा हुने सभाले व्यापार व्यापारै छैन । धेरै समयदेखि शान्तिपूर्ण माग राख्दा पनि सुनुवाइ भएन । अहिले पनि त्यही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेका छन्, यसप्रति हाम्रो कडा विरोध छ ।”
चिप्लेढुंगा–सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक ‘बेचिएको’ आरोप लगाए । उनका अनुसार व्यवसायीहरूको समस्या नहेरी कार्यक्रमका लागि सडक दिने निर्णयले बजारमा ठूलो मन्दी आएको छ । “केही रकम खानका लागि सडक बेचिँदैछ । आजैदेखि यस्तो कार्यक्रम बन्द गरियोस् । ४ घण्टा व्यापार बन्द हुँदा कति नोक्सान हुन्छ, कसैले सोच्दैन,” उनले भने । व्यवसायीहरूले मेयर धनराज आचार्यप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
यसअघि नै व्यवसायीहरूले महानगरलाई ज्ञापनपत्र बुझाउँदै सो क्षेत्रमै कार्यक्रम नगर्न धेरै पटक आग्रह गरेका थिए, तर सुनुवाइ नभएको उनीहरूको आरोप छ । निर्धारित सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो ।
व्यवसायीहरूले विरोध जनाएपछि केही समय नेकपा कार्यकर्तासँग भनाभन समेत भएको थियो । अन्ततः कार्यक्रमको विरोधस्वरूप व्यापारीहरूले आफ्ना पसलका सटरसमेत तानेर आन्दोलनमा उत्रिएका छन् ।