Butwal Today

प्रतिनिधि छनोटअघि उत्पन्न नयाँ ध्रुवीकरण : एमालेमा पौडेल-गुरूङको ‘ओली कार्ड’ प्रभावशाली

१३ मंसिर २०८२, शनिबार
अ+
अ-

बुटवल, १३ मंसिर ।

एमाले महाधिवेशन नजिकिँदै जाँदा आन्तरिक शक्ति–समीकरण निकै गतिशील बन्दै गएको छ। लामो समयदेखि तटस्थ देखिएका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरूङले प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा एकाएक अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेपछि पार्टीभित्रको ध्रुवीकरण झनै तीव्र बनेको छ।

गत मंसिर ९ गते वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि एमालेभित्र स्वाभाविक रूपमा दुई धार गठन हुँदै आएको थियो। तर पौडेल र गुरूङ दुवैतिर छलफलमै व्यस्त देखिँदा भूगोलका नेता र प्रतिनिधिहरू अन्योलमा थिए। अन्तिम क्षणमा उनीहरूले ओलीको पक्ष स्पष्ट रूपमा खुलाएपछि भूगोलमा सहमतिमै प्रतिनिधि छान्न सकिने वातावरण बन्दै गएको बताइन्छ। उनीहरूको यो कदमले तलसम्म ध्रुवीकरण बढ्न नदिने र आफ्नै पक्षका प्रतिनिधि खुलेर आउन सक्ने आश पनि उब्जिएको छ।

पौडेल–गुरूङको निर्णयले केन्द्रीय राजनीति मात्रै होइन, भूगोलमा समेत प्रतिस्पर्धा तीव्र बनाएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनसहित मैदानमा उत्रिएका छन्। भूगोलमा उनको प्रभाव बलियो देखिए पनि केन्द्रीय विभाग र निकायमा भने उनी कमजोर रहेको ओलीनिकट नेताहरूको बुझाइ छ। यी दुई धारबीच अहिले ‘नेक टु नेक’ प्रतिस्पर्धा देखिएको छ।

यता उपाध्यक्ष बादल, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, पद्मा अर्याल र छविलाल विश्वकर्मासहित सात नेता अझै खुलिसकेका छैनन्। उनीहरू प्रदेश–प्रदेशमै व्यस्त भएकाले साझा वैठक सम्भव नभएको र यिनै नेतामाथि दबाब सिर्जना गर्न पनि पौडेल र गुरूङले ओली पक्षमा खुलेर सन्देश दिएको बताइन्छ। सुदूरपश्चिममा प्रतिनिधि चयन अत्यन्त पेचिलो बनेको, भट्ट र दामोदर भण्डारीबीच मत मिल्न नसकेको जानकारी स्रोतहरूले दिएका छन्। पद्मा अर्याल बिरामी भएर घरमै छिन् भने महासेठ मधेसमै केंद्रित छन्, जसले गर्दा शीर्ष तहमा साझा निर्णय लिन झनै कठिन छ।

यो समीकरणमा महासचिव पद मुख्य केन्द्रबिन्दु बनेको छ। शुक्रबार बिहान भैंसेपाटीमा पौडेल र गुरूङबीच भएको गोप्य भेटमै उनीहरूले ओलीलाई सर्तसहित समर्थन गर्ने र महासचिव पदका लागि बार्गेनिङ गर्ने साझा लाइन बनाएको स्रोतको भनाइ छ। गुरूङले ओलीलाई महासचिव नदिए पौडेललाई समर्थन गर्ने रणनीति आफू नजिकका नेतालाई नै बताइसकेको दाबी पनि गरिएको छ। यतिबेला महासचिवका दाबेदारमा शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरूङ चारै जना सक्रिय छन्। ओलीले भने अहिलेसम्म कसैको पक्ष खुलेर नबोलेका कारण प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ।

गण्डकीमा गुरूङ र लुम्बिनीमा पौडेलको प्रभाव बलियो भएकाले उनीहरू तटस्थ रहँदा स्थानीय नेताहरू असमञ्जसमा थिए। अब उनीहरूको स्पष्ट सन्देशसँगै भूगोलमा प्रतिनिधि छनोट सजिलो भएको, स्वतःस्फूर्त रूपमा उनीपक्षीय प्रतिनिधि आउने सम्भावना बढेको भनाइ छ। यस्तै, दुवै नेताको बुझाइमा महासचिव शंकर पोखरेलकै कारण पार्टीभित्र गुटबन्दी बढेको, कतिपय सदस्यताको नवीकरण–स्थगन जस्ता कदमले उनीहरूलाई कमजोर बनाउने प्रयास भएको गुनासो छ। लुम्बिनीमा पौडेल–पोखरेलबीच पुरानै प्रतिस्पर्धा रहेकाले उनीहरूको असन्तुष्टि अझ ठूलो देखिएको छ।

यिनै कारणले सन्तुलन मिलाउन महासचिव पद दुवै मध्ये एकजनालाई दिनुपर्ने साझा निष्कर्षमा पुगेको उनीनिकट स्रोतहरूको भनाइ छ। यही दबाब सिर्जना गर्न पनि उनीहरूले ओलीलाई खुलेर समर्थन गरेको बुझिन्छ।

शनिबार देशभरका भूगोलबाट करिब १२ सय प्रतिनिधि, साथै सम्पर्क समन्वय, विभाग र निकायबाट समेत प्रतिनिधि छानिँदैछन्। यही प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्वको अन्तिम चित्र कोर्ने भएकाले आजको समीकरण नै निर्णायक बन्ने संकेत मिलिरहेको छ।

एमाले महाधिवेशनअघिको अन्तिम घडीमा पौडेल–गुरूङको ‘ओली कार्ड’ सार्वजनिक भएपछि पार्टीभित्रको शक्ति–सन्तुलन कता मोडिन्छ भन्ने उत्सुकता झनै बढेको छ।