© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसको संस्थापन समूहका युवा–विद्यार्थीहरूले पार्टीलाई एकताबद्ध गरेर अघि बढाउन नियमित महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
नियमित महाधिवेशनका लागि दबाब दिन शुक्रबार काठमाडौँमा भेला आयोजना गर्दै उनीहरूले विशेष महाधिवेशनले पार्टीलाई झन् समस्यामा पुर्याउने भन्दै नियमित महाधिवेशनबाट मात्रै पार्टीको अस्तित्व सुरक्षित हुने बताएका हुन् ।
उनीहरूले अहिले विशेष महाधिवेशनमा नामा पार्टीभित्र स्वार्थप्रेरित कार्य भइरहेको हुँदा त्यसलाई तत्काल रोक्नुपर्ने धारणा राखेका छन् । युवा–विद्यार्थीहरूले अहिले निर्वाचनमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने र निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने पनि बताएका छन् ।
भेलामा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्रको भागबन्डाको खेलले नेविसंघ लगायतका भातृसंस्थाको अवस्था कमजोर बनाएको आरोप लगाए । उनले भने, ‘पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबैले गम्भीर हुनुपर्छ ।’
त्यस्तै कांग्रेस युवा नेता पुष्प शाहीले भने, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने र नियमित महाधिवेशनबाट पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा विवाद भइरहँदा पछिल्लो समय विभिन्न पक्षको भेला भइरहेको छ । महाधिवेशन टुङ्गोमा पुग्न नसकेपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गते आइतबारसम्म स्थगित गरिएको छ ।