Butwal Today

कांग्रेसको महाधिवेशन विवाद मिलाउन खड्का,थापा र शर्माबीच छलफल

१० मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १० मंसिर ।

नेपाली कांग्रेसभित्र पार्टीको १५ औँ महाधिवेशन फागुन २३ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछि गर्ने भन्ने विवाद मिलाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भइरहेको छ ।

खड्का निवास, गोल्फुटारमा भइरहेको छलफलमा केन्द्रीय कार्यसमितिमा पेस भएका महाधिवेशनका दुई कार्यतालिकालाई एकीकृत गर्ने विषयमा केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गतेसम्म महाधिवेशन गर्ने काउन्टर तालिका पेश गरेका थिए ।

थापाको तालिकालाई इतर समूहले समर्थन गरे भने यादवको तालिकालाई संस्थापन समूहले समर्थन गरेपछि विवाद चरमोत्कर्षमा पुगेको थियो । यस विवादका कारण असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

बिहीबार बोलाइएको आगामी बैठकमा दुई कार्यतालिकालाई एकीकृत गरेर सहमतिको तालिका तयार गर्ने विषयमा छलफल हुने बताइएको छ । तर, अहिलेसम्म यसमा पूर्ण सहमति हुन सकेको छैन ।