नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्यालय लक्षित विद्युतीय सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ ।
वितरण केन्द्र गुल्मीका सूचना अधिकारी भरत पोखरेलका अनुसार विद्युतीय सामग्रीहरुको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु र यसका जोखिमबारेमा विद्यालय स्तरमा सचेतना गराउँदा कार्यक्रम प्रभावकारी हुने भएको सचेतना गरिएको हो ।
पछिल्लो समयमा विद्युतीय जोखिम बढ्दै गएकाले त्यसको बारेमा जानकारी गराउने र विद्यालय तहबाट सचेतना फैलाउँदा समाजसम्म सहज रुपमा पुग्ने भएकाले विद्यालय नै रोजिएको उनको भनाइ छ । पहिलो चरणमा मालिका गाउँपालिका वडा नम्वर ७ घमिरमा रहेको देवीस्थान माध्यमिक विद्यालय र धुर्कोट ७ मा रहेको वाग्ला माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्युतीय सुरक्षा सम्बन्धी सचेतना प्रदान गरिएको बताउँदै यसलाई अभियानकै रुपमा सञ्चालन गर्दै लैजाने उनले बताए ।
विद्यालय स्तरमै आएर यसरी विद्युतीय सुरक्षा सम्बन्धी जानकारी पाउँदा विद्यार्थीहरु खुसी भएका भएका छन् । यस्तै कार्यक्रमहरु पुनः सञ्चालन गर्नका लागि उनीहरुले आग्रहसमेत गरेका छन् ।
देवीस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीले उक्त कार्यक्रम प्रभावकारी भएको बताए । विद्यार्थीहरुलाई नयाँ नयाँ ज्ञान र प्रविधिसँग जोड्नका लागि यस कार्यक्रमले थप टेवा पुग्ने उनको भनाइ छ ।
कार्यक्रमको सहजीकरण वितरण केन्द्र गुल्मीका इन्जिनियर भरत पोखरेल, प्रशासन शाखा प्रमुख विष्ण्ुा पाण्डेलगायतका कर्मचारीहरुले गरेका थिए ।