© 2026
काठमान्डौ, ८ मंसिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आगामी प्रतिनिधिसभा निर्वाचनबाहेक अन्य वैकल्पिक उपायको कल्पना नगर्न सुझाव दिएका छन् ।
सोमबार शीतलनिवासमा भेटघाटका लागि पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग राष्ट्रपति पौडेलले २१ फागुनमा तोकिएको निर्वाचन नै मुलुकका लागि प्रमुख मार्ग रहेको बताएका हुन् । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार राष्ट्रपति पौडेलले भेटका क्रममा भने, ‘चुनाव हुन्छ, तपाईंहरू चुनावमा जानुस् । निर्वाचनबाहेक कुनै वैकल्पिक बाटोको कल्पना पनि नगर्नुस् ।’
राष्ट्रपति पौडेल मुलुकलाई राजनीतिक निकास दिन निर्वाचन नै एकमात्र मार्ग भएको पक्षमा रहेको पुनले बताए । भेटवार्तामा राष्ट्रपति पौडेलले कांग्रेसभित्र आन्तरिक एकता र नेतृत्व व्यवस्थापन गर्न सुझाव दिँदै भने, ‘तपाईंहरू मिलेर जानुस्, कांग्रेसलाई सुधारेर अघि बढाउनुहोस् । नेतृत्वसँगको सल्लाहमा विधानअनुरूपको प्रक्रिया अपनाउनुहोस् ।’
नेताहरूले आगामी निर्वाचनको वातावरण निर्माणका लागि सरकारले दलहरूसँग संवाद बढाउनुपर्ने आग्रह पनि राष्ट्रपति पौडेलसमक्ष राखेका थिए ।
सभापति पुनका अनुसार, ‘सरकारले वातावरण बनाउन अलि फरक किसिमले काम गर्नुपर्छ । तपाईं अभिभावक भएकाले सरकारले आवश्यक तयारी गर्न निर्देशन दिनुपर्छ,’ भन्ने सुझाव नेताहरूले राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए ।