© २०२३
गुल्मी,८ मङ्सिर ।
गुल्मीको सदरमुकाम तम्घासमा चल्ने अटो रिक्साको मनपरी भाडा लिइरहेका छन् । अटो रिक्साको मनपरी भाडा चल्दा भाडामा एकरूपता देखिएको छैन ।
अटो रिक्साको नियमन गर्ने निकाय रेसुङ्गा नगरपालिकाले व्यवस्थापनमा खासै चासो देखाएको पाइदैन् । तम्घासमा चल्ने अटो रिक्साहरूले मनपरी भाडा लिएको गुनासो आइरहेको समयमा रेसुङ्गा नगरपालिकाले भाडादर निर्धारण गर्न सकेको छैन यहाँ चल्ने तीन पाङग्रे अटोले बजारदेखि उपल्लो तम्घास मुख्य सडकसम्म एक सय पचास रुपियाँसम्म भाडा असुल्ने गर्दा पनि सरोकारवाला निकाय मौन रहेको पाइएको हो ।
२०७५ साल कात्तिक २९ गते नगरपालिकाले तत्कालीन नगरप्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बैठक बसी नगरको भ्यालीभित्र ३० रुपियाँ, भ्याली बाहिर कच्ची सडकमा प्रति किलोमिटर १५ र पक्की सडकमा प्रति किलोमिटर १० रुपियाँका दरले भाडा लिने गरी निर्णय भएको थियो ।
तर उक्त निर्णय कागजमा मात्रै सीमित रहेको पाइएको छ । त्यस पश्चात् उक्त निर्णयलाई परिमार्जन पनि गरिएको छैन भने कार्यान्वयनमा पनि आउन सकेको छैन ।
रेसुङ्गा नगरपालिका राजस्व शाखामा कार्यरत जमुना बस्नेतले तल बजारबाट देउरालीसम्म गएको एक सय पचास रुपियाँ आफूले पनि तिर्न बाध्य भएको बताएकी छिन् ।
तम्घासमा चल्ने अटो रक्सिाहरुले मनपरी भाडा असुल गर्दा पनि सरोकारवाला निकाय मौन बस्नु दुःखद पक्ष भएको यहाँका स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।
नगरप्रमुख खिल ध्वज पन्थीले अटो रिक्साहरूलाई बोलाएर भाडा निर्धारण गर्ने बताए पनि उपलब्धि भने देखिएको छैन । सूचना प्रविधि अधिकृत सुरेश खनालले तत्काल बैठक बसी भाडा निर्धारण गर्ने गरी नगरप्रमुख लागेको बताएका छन् ।
नगरभित्र ४९ वटा अटो रिक्साहरू दर्ता भएका छन् भने ४२ वटा सञ्चालनमा रहेका छन् । बस्नेतका अनुसार यस आर्थिक वर्षमा १२ वटा मात्र नवीकरण भएका छन् ।