© २०२३
काठमान्डौ, ८ मंसिर ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रामबहादुर बम्जनको मुद्दा सर्वोच्च अदालतको पेसीमा चढेको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
बम्जनमाथि सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) सम्बन्धी मुद्दा २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा दर्ता गरिएको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि बम्जन उच्च अदालत जनकपुर पुगेका थिए । तर, उच्च अदालतले समेत जिल्ला अदालतको आदेश सदर गरेपछि उनी दफा ७३ अन्तर्गत थुनामुक्तिका लागि सर्वोच्च अदालतमा पुगेका हुन् ।
उनीविरुद्ध ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगो कायम गर्दै सो रकमको दोब्बर जरिवाना र कसुरको गम्भीरताअनुसार कैद सजाय माग गरिएको थियो ।
यसअघि बम्जनलाई सर्लाही जिल्ला अदालतले एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको ठहर गर्दै २०८१ असारमा १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय सुनाइएको थियो । सो फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेपछि उच्च अदालत जनकपुरले जिल्ला अदालतको आदेश उल्ट्याउँदै गत चैत ६ गते बम्जनलाई सफाइ दिएको थियो ।
उच्च अदालतबाट सफाइ पाएसँगै बम्जन कारागारमुक्त भएका थिए ।