Butwal Today

नेपाली कम्युनिस्ट पार्टीले चुनावका लागि भोट माग्न थाले

६ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, ६ मंसिर ।

नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि औपचारिक रूपमै मत माग्न सुरू गरेको छ । सो अभियानअन्तर्गत पार्टीले शनिबार पेरिसडाँडास्थित पूर्व माओवादी केन्द्रको मुख्यालयमा जेनजी पुस्तासँग संवाद कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रम सांस्कृतिक प्रस्तुतिसहित प्रारम्भ भएको थियो, जहाँ कलाकार, रचनाकार, संगीतकार तथा गायक–गायिकाले विभिन्न प्रस्तुति दिए । कलाकारहरूले “चम्किलो तारामा दिनुहोला भोट” भन्ने संदेशसहित गीत–संगीत प्रस्तुत गरे, जसलाई नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले ताली र नृत्य गरेर समर्थन जनाए ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह ‘तारा’ हो । पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० भन्दा बढी दल र समूह मिलेर बनेको यो पार्टी गठनपछि पहिलोपटक जेनजी पुस्तासँग संवादमा उत्रिएको हो । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको सहभागिता थियो । नेताहरूले जेनजी पुस्ताले चाहेको ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त ग रे।

सम्बोधन गर्दै नेता जगन्नाथ खतिवडाले पार्टी जेनजी पुस्ताको आवाज सुनेर अघि बढ्न पूर्णतः तयार रहेको बताए । उनले भदौ २३ र २४ को जेनजी आन्दोलनले देश परिवर्तनको नयाँ आकांक्षा उजागर गरेको उल्लेख गर्दै, त्यसको मूल भावना—भ्रष्टाचार नियन्त्रण, सुशासन र जिम्मेवार नेतृत्व—अनुसार पार्टी अघि बढिसकेको बताए ।

राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्यसँगै गणतन्त्र प्राप्त भएको स्मरण गराउँदै उनले अबको परिवर्तनको मूल आधार नेतृत्वमा पुस्तान्तरण हुने दाबी गरे । उनले भने, “कमरेड प्रचण्ड भविष्यका लागि मुलुक हाँक्ने योग्य उत्तराधिकारी खोजिरहनुभएको छ । कमरेड माधव नेपाल पनि नयाँ कम्युनिस्ट नेतृत्व उदाउनु पर्नेमा विश्वास राख्नुभएको छ। हामी सबै मिलेर नयाँ पुस्तालाई नेतृत्व सम्हाल्न सक्षम बनाउनेतर्फ लागेको छौं ।”

खतिवडाले परिवर्तनको चाहना बोकेको भएकाले आफ्नो पार्टीले युवापुस्ताका अपेक्षाअनुसार निर्णय लिने स्पष्ट संकेत दिए । उनले नागरिकलाई पनि सुधार, सुशासन र पुस्तान्तरणको मार्गलाई मजबुत बनाउन आगामी निर्वाचनमा आफ्नो विवेकपूर्ण मत दिन आग्रह गरे ।