Butwal Today

कांग्रेस महामन्त्री थापा–शर्माले दिए चेतावनी: महाधिवेशन अघि चुनाव नलड्ने

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, ५ मंसिर ।

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न नसकिने अवस्था आए आगामी चुनावमा उम्मेदवार नहुने बताएका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान १० बजेदेखि १२:३० सम्म भेटेर छलफल गरेका थिए ।

महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले भने, ‘चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने हामी उम्मेदवार नबन्ने अवस्थामा छौं,’

सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए । शेर्पाले थप भने, ‘नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्न सकिँदैन ।

पार्टीको विधान अनुसार विशेष महाधिवेशनको माग भएको छ । चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्न सकेनौं भने हामी चुनावमा नलड्न सक्छौं ।’

विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।

कांग्रेस विधान अनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । उक्त अवधि २८ पुसमा सकिन्छ । दुई महामन्त्रीले केन्द्रीय सदस्यहरूसँग कुरा गर्दा, त्यसअघि नियमित महाधिवेशन भए विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुने बताएका थिए ।

सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले सभापति देउवालाई बिहीबार भेटेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई शुक्रबार बिहान भेटेका थिए ।

सभापति देउवाले चुनावअघि महाधिवेशनका लागि सकरात्मक रहेको जानकारी दिएका थिए । देउवाले भेटेका नेताहरूलाई भनेका थिए, ‘महाधिवेशन गर्ने कुरामा म सकारात्मक छु ।

तर, कार्यवाहक सभापति दिइसकेको हुँदा म क्रियाशील हुन्नँ । अन्य नेताहरूसँग छलफल गरेर निष्कर्षमा पुग्न सुझाव दिन्छु ।’

सभापति देउवाले बिहीबारको सिमरा घटनाप्रति चासो राखेको र चुनावी वातावरण बिग्रने चिन्ता व्यक्त गरेको पनि भेट्न पुगेका नेताहरूले जानकारी दिएका छन् ।

कार्यवाहक सभापति खड्काले भने, पार्टीमा विवाद र विखण्डन नहुने गरी पहल गरिरहेको जानकारी गराएका थिए । चुनावअघि महाधिवेशन हुनुपर्ने मागमा रहेका नेताहरूलाई खड्काको सुझाव थियो, ‘तपाईंले मलाई मात्र भन्नुभयो, अरु नेताहरूलाई पनि सम्झाउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?