© २०२३
काठमान्डौ, ५ मंसिर ।
सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका रामबहादुर बम्जनको मुद्दा सर्वोच्च अदालतमा पेसी चढेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
बम्जनमाथि २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी त्यसविरुद्ध जनकपुर उच्च अदालतमा पुगेका थिए । तर उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि बम्जनले थुनामुक्त गर्न मागसहित दफा ७३ अन्तर्गत सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन् ।
बम्जनमाथि सवा ८ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको बिगोसहित मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगो कायम गर्दै सो रकमको दोब्बर जरिवाना तथा कसुरको गम्भीरता अनुसार कैद सजाय माग गरिएको छ ।
यसअघि बम्जनलाई सर्लाही जिल्ला अदालतले एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको अभियोगमा २०८१ असारमा १० वर्ष कैद तथा पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । तर सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा उनले पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै २०७९ चैत ६ गते बम्जनलाई सफाइ दिएको थियो । उच्च अदालतबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए ।