Butwal Today

मुक्का हान्नेलाई नसमातेसम्म वार्ता सम्भव छैन– जेनजी युवा

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ४ मंसिर ।

स्थानीय प्रशासनले वार्तामा बस्न गरेको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादमार्फत समस्या समाधान गर्न सकिने भन्दै जेनजी समूहलाई वार्ताका लागि बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गरेको आरोप लागेका एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने स्पष्ट अडान राखेका छन् ।

बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको जनाएका छन् । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले भने वार्ता टोलीलाई घटनास्थलमै आउन आग्रह गरेको छ ।

जेनजी अगुवा उपाध्यायले बताएका अनुसार, वार्ता सुरु गर्नुअघि अरविन्द साहलाई पक्राउ गर्नु नै आन्दोलनरत युवाको प्रमुख शर्त हो । बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप साहमाथि छ, र उनी हाल फरार रहेका छन् ।