© २०२३
काठमान्डौ, ४ मंसिर ।
सुन र अमेरिकी डलरको मूल्यवृद्धिसँगै नेपाल राष्ट्र बैंकले एक वर्षमा ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ आर्जन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार राष्ट्र बैंकले सुन तथा विदेशी मुद्राको मूल्यवृद्धिबाट उल्लेख्य नाफा कमाएको हो । पुँजीगत लाभमध्ये सुनको मूल्य बढ्दा मात्रै बैंकले ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा हासिल गरेको छ । त्यस्तै, अमेरिकी डलरको विनिमय दरमा वृद्धि भएपछि बैंकले थप ४५ अर्ब २ करोड रुपैयाँ कमाएको प्रतिवेदनमा उल्लेख छ ।
गत असार मसान्तसम्म नेपाल राष्ट्र बैंकसँग २४ अर्ब १४ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । साथै, बैंकसँग पेपर गोल्ड र सञ्चित सुनसहित ९ हजार २३४.१९ किलोग्राम सुन तथा १ लाख २० हजार ३७.९० किलोग्राम चाँदीको स्टक रहेको प्रतिवेदनले देखाएको छ ।