© २०२३
बुटवल, ४ मंसिर ।
रास्वपाका सभापति रवि लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ आज स्थगित भएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थामा गरिएको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो । तर, पाटन उच्च अदालतमा पनि लामिछानेसम्बन्धी अर्को पेसी परेको हुँदा उनीतर्फका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगन मागेपछि सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोग मिसिल मगाउन आदेश दिएको थियो । सो मिसिल प्राप्त भएपछि आज (बिहीबार) का लागि पेसी चढाइएको थियो ।
कात्तिक २० गतेको सुनुवाइमा पनि आचार्य–अर्याल इजलासले ‘सुरु मिसिल’ मगाउन आदेश दिएको थियो । सर्वोच्चबाट मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबारका लागि पेसी तोकिएको हो । लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको समेत सूचना अधिकारी कुँवरले जानकारी दिए ।
यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको थियो । बिगोबमोजिम रकम बुझाई थुनामुक्त हुन माग गर्दै लामिछानेले निवेदन दियेपछि उच्च अदालतले जोशीको फाइल पनि पेस गर्न आदेश गरेको हो ।
उच्च अदालत, बुटवलले यसअघि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन समेत माग गरेको थियो । सहकारीमा भएको अपचलनबापत आफ्नो भाग बराबरको बिगो दाखिला गरिसक्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
लामिछानेले जिल्ला अदालतमा पनि बिगो दाखिला गरी थुनामुक्ति माग गरेका थिए । तर न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनीहरूको निवेदन अस्वीकार गरेको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर भएको छ । सो बिगोको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ लामिछानेले बैंक जमानतका रूपमा पेस गरेका छन् । जोशीले पनि त्यति नै रकमबापत जमानत पेश गरेका थिए ।
तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने निश्चित नहुँदा दुवैलाई थुनाबाट रिहा नगर्ने निर्णय भएको हो। हाल लामिछाने ललितपुरस्थित नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्।