© २०२३
काठमान्डौ, ३ मंसिर ।
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौंमा स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, “म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ, तर मानव अधिकार आयोगले समेत भनिसकेको छ — बोल्ने आधारमा कसैलाई थुन्न पाइँदैन ।”
उनले प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात पक्राउ गरिएको भन्दै आपत्ति जनाए । ओलीका अनुसार, “दुर्गा प्रसाईंले एउटा भिडियो निकाल्यो, दिउँसो निस्कियो, बेलुका समातियो । यो सरकारसँग त्यसको जवाफ छ कि छैन ? म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु । भिडियो त देखाएको हो नि, तर यति साह्रो ताउरमाउर भयो कि दुनियाँ शोकमा भएको बेला सरकार षडयन्त्रको तानाबाना बुनिरहेछ ।”
ओलीले स्पष्ट पारे, अभिव्यक्ति दिएका कारण कसैलाई पनि उत्तेजित भएर गिरफ्तार गर्न नपाइने हो । उनले भने, “बोलेको आधारमा मान्छे गिरफ्तार गर्न हुँदैन । कसलाई मन पर्छ वा पर्दैन भन्ने आधारमा कारबाही हुँदैन। भएको भिडियो बाहिर ल्याउनु अपराध होइन । राति राति स्वेच्छाले गिरफ्तारी गर्नु अस्वीकार्य छ । बिहान गिरफ्तार गरिएको भए के हुन्थ्यो ? यो सरकारले तमासा गरिरहेको छ ।”