© २०२३
काठमान्डौ, २ मंसिर ।
सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई थप राहतस्वरूप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । फलोअप उपचारका क्रममा आर्थिक अभाव परेको गुनासो बढेपछि सरकारले थप सहुलियत दिने निर्णय गरेको हो ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई उपचार खर्चस्वरूप तत्काल जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यसअघि सरकारले आन्दोलनका घाइतेलाई जनही २० हजार रुपैयाँ राहत प्रदान गरिसकेको थियो ।
त्यसबाहेक, बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीस सरकारबाट प्राप्त हुने २।१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।