© २०२३
काठमान्डौ, २ मंसिर ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै अहिले पुनःस्थापना (रिकभरी) कार्य जारी रहेको जानकारी दिए । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरू सुरक्षित रहेको बुझिएको छ,’ काफ्लेले भने ।
हाल वेबसाइट पूर्ण रूपमा बन्द अवस्थामा छ । कसले र कहाँबाट ह्याक गरेको भन्नेबारे अनुसन्धान जारी रहेको प्रवक्ता काफ्लेले बताए । वेबसाइट सुरुआतमा खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिएको थियो । हाल भने उक्त सामग्री हटाइएको छ ।
हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा राष्ट्रिय परिचयपत्रको विवरण प्रणालीसँग एकीकृत गरेको थियो । तर ह्याक भएको वेबसाइटमा संवेदनशील विवरण नरहेको विभागका कर्मचारीहरूले बताएका छन् ।
‘यो सामान्य प्रयोजनका लागि प्रयोग हुने वेबसाइट हो। यसमा रहेका साधारण डकुमेन्टहरू सुरक्षित छन्,’ विभागका एक कर्मचारीले स्पष्ट पारे ।